राजनीति

संशोधन प्रस्तावमा हिन्दु राष्ट्र राख्न माग

काठमाडौं- राप्रपाका केन्द्रीय सदस्यहरूले संविधान संशोधन विधेयकमा हिन्दु राष्ट्रको विषय पनि समेटिनुपर्ने माग गरेका छन्। राप्रपा नेपाल र राप्रपा एकतापछि बुधबार बसेको पहिलो केन्द्रीय समिति बैठकमा सदस्यहरूले यस्तो धारणा राखेका हुन्।

'प्रदेश सीमाकांन, नागरिकता, भाषा जस्ता विषयमा केन्द्रीय सदस्यहरूले चासो देखाउनु भएको छ। सत्तारुढ दल भए पनि संविधान संशोधनबारे खासै छलफल भएको छैन,' केन्द्रीय सदस्य दिलनाथ गिरीले भने, 'संशोधन प्रस्तावमा नेपाललाई हिन्दु राष्ट्र बनाउने विषय पनि राखिनुपर्छ भन्ने माग केन्द्रीय सदस्यहरूले उठाउनुभएको छ।'

राप्रपा नेपाल र राप्रपाबीच सोमबार एकीकरण भएको थियो। एकीकरण पछि दलको नाम राप्रपा राखिएको छ। एकतापछि संसद्मा राप्रपाको सदस्य संख्या ३७ पुगेको छ। राप्रपाले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने एजेन्डा अघि सारेको छ।

बैठकमा केन्द्रीय सदस्यहरूले माघभित्रै पार्टीको महाधिवेशन गरिसक्नुपर्नेमा जोड दिएका थिए। 'निर्धारित समयमै महाधिवेशन हुनुपर्ने विषय आएको छ,' केन्द्रीय सदस्य भरत पाठकले भने, 'सबै नीतिगत विषयलाई अघि बढाउन पनि महाधिवेशन समयमै गर्नुपर्ने हुन्छ।'

संवैधानिक राजतन्त्रको एजेन्डालाई महाधिवेशनबाट टुंगो लगाउने गरी थाँती राखिएको छ।

प्रकाशित: ९ मंसिर २०७३ ०२:०७ बिहीबार

संशोधन प्रस्तावमा हिन्दु राष्ट्र राख्न माग