राजनीति

स्थानीय तह पुनःसर्चनाले मुलुकभरि विवाद

स्थानीयलाई भौगोलिक रूपले पनि सरकारी सेवा सर्वसुलभ बनाउने उद्देश्यले स्थानीय तह पुनर्संरचनाको कार्य चलिरहेको छ। तर, कतिपय तहको नाम आफूहरूको मागभन्दा फरक परेको, पहिलेको भन्दा टाढा र अपायक स्थानमा केन्द्र तथा वडा कार्यालय राखिएको भन्दै विवाद बढिरहेको छ । पूर्वी पहाडका विभिन्न जिल्लामा यही विषयको विवादले झडपको रूप समेत लिइसकेको छ । आफूहरूका माग सम्बोधन हुनुपर्ने भन्दै स्थानीय आन्दोलित बन्दै छन्।

स्थानीय तह पुनर्संरचना गर्दा आफूहरूलाई वडा– ६ सँग मिलाएकामा विरोध गर्दै इलाम नगरपालिका– ७ का बासिन्दाले कात्तिक ९ मा स्थानीय तह प्राविधिक सहयोग समितिमा ज्ञापनपत्र बुझाए । तर, जिल्लास्तरका राजनीतिक दलको सहमतिमा खाकालाई अन्तिम रूप दिएकाले तत्काल समितिले निर्णय परिवर्तन हुन नसक्ने बतायो ।

त्यसपछि उनीहरूले आफूहरूलाई वडा– ८ सँग मिलाउँदा उचित हुने माग गर्दै स्थानीय तह पुनर्संरचना आयोगमै ज्ञापनपत्र बुझाएका छन् । तर, त्यसको सुनुवाई हुने हो या होइन भन्नेमा उनीहरू अझै सशंकित छन् । वडा– ८ सँग नमिलाए वडा– ७ का बासिन्दाले आन्दोलनमै उत्रिने चेतावनी दिइरहेका छन् । यसबारे सदरमुकाम र सम्बन्धित वडाहरूमा दिनहुँ छलफल र बहस भइरहेको छ।

जिल्लाकै महमाई गाउँका बासिन्दाले पनि स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले बुझाएको गाउँपालिकाको खाकामा असहमति जनाए । उनीहरूले कात्तिक १९ मा सदरमुकाम नै आएर पत्रकार सम्मेलन गर्दै आफूहरूलाई बेवास्ता गरी सांस्कृतिक, आर्थिक र सामाजिक कुनै पनि हिसाबले नमिल्ने माई नगरपालिकाको भूगोलमा मिलाउन खोजिएको भन्दै विरोध जनाए ।

समितिले आयोगमा बुझाएको खाकामा महमाई, चिसापानी र दानाबारी गाउँ मिलाएर माई नगरपालिका बनाउन प्रस्ताव गरिएको थियो । तर, महमाईलाई माङ्सेबुङ गाउँपालिकामा समाहित गर्नुपर्ने उनीहरूको माग थियो । जिल्लास्तरका प्रमुख राजनीतिक दलको सहमतिमा तयार भएको भनिएको खाकाप्रति महमाईका बासिन्दाको तर्फबाट नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र लिम्बुवान पार्टीका प्रतिनिधिले नै विरोध जनाएका थिए ।

त्यसको दुई दिनपछि महमाईकै राजनीतिक दलका प्रतिनिधिका नाममा समितिले बुझाएको पुरानै खाका उचित भएकाले त्यसलाई फेरबदल गर्न नमिल्ने मागसहितको विज्ञप्ति आयो । विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि र प्रमुखहरूकै हस्ताक्षर रहेको विज्ञप्तिमा पुरानै खाकालाई अन्तिम रूप दिनुपर्ने उल्लेख थियो।

जिल्लाकै आमचोक गाउँका बासिन्दाले आफूहरूलाई पायक नपर्ने स्थानमा गाउँपालिकाको केन्द्र प्रस्ताव गरिएको भन्दै समितिमा ज्ञापनपत्र बुझाए । उनीहरूले आफूहरूलाई समितिले ‘हेपेको’ भन्दै आमचोकमै केन्द्र राख्न मागसहितको ज्ञापनपत्र आयोगमै पेस गरेका छन् । जिल्लाको गजुरमुखी गाविसको वडा १, २ र ९ का बासिन्दाले पनि आफूहरूलाई माङ्सेबुङ गाउँपालिकामा नभई देउमाई नगरपालिकामा मिलाइदिन माग गरेका छन् । उनीहरूले कात्तिक २९ मा स्थानीय दुई सय ४३ जनाको हस्ताक्षर रहेको ज्ञापनपत्र नै समितिमा बुझाए । जोगमाई गाउँका बासिन्दाले पनि गाउँलाई माइजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकामा मिलाउने गरी पुनर्संरचना गरेको भन्दै असन्तुष्टि जनाइरहेका छन्।

करिब दुई महिनाको बहस र छलफलपछि स्थानीय राजनीतिक दलले जिल्लालाई चार नगरपालिका र ६ गाउँपालिका बनाउने खाकामा सहमति गरेका थिए । कात्तिक ७ मा सहमति गरी कात्तिक १८ मा आयोगमा बुझाइएको खाकामा इलाम, माई, देउमाई र सूर्योदय नगरपालिका तथा माईजोगमाई, सन्दकपुर, रोङ, माङ्सेबुङ, फाल्गुनन्द र फाकफोकथुम गाउँपालिका बनाउने प्रस्ताव छ । नगर र गाउँपालिकाको नाममा खासै विमति नरहे पनि केही केन्द्रका विषयमा भने अझै सहमति जुट्न सकेको छैन।

समितिका सदस्य–सचिव एवं जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले केही असन्तुष्ट नागरिकले आयोगमै आफ्नो असन्तुष्टि सहितको ज्ञापनपत्र बुझाएको बताए । ‘स्थानीय समितिमा आएका असन्तुष्टि पनि हामीले आयोगमै पठाएका छौं,’ उनले भने, ‘आयोगले पुनर्विचारका लागि प्रतिवेदन फिर्ता पठाएपछि सम्भव हुनेसम्मका माग पुनः सम्बोधन हुनेछन् ।’ आयोगले पहिला जिल्लालाई आठ संख्याका स्थानीय तह तोकेको थियो । त्यसमा सहमति नजुटेपछि समितिले भदौ २९ मा ८ र १० संख्याका बेग्लाबेग्लै खाका समेत आयोगमा पठाएको थियो । कात्तिक ४ मा ‘स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यसर्त– ०७३’ परिमार्जन गरी जिल्लामा आठदेखि ११ संख्याका स्थानीय निकाय तोकिएपछि त्यहीअनुसार तहको संख्या १० प्रस्ताव गरिएको थियो ।

संखुवासभामा स्थानीय तहको केन्द्रको विवाद झडपमा परिणत भएको छ । गत बुधबार आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा एक प्रहरीसहित १५ घाइते भए । प्रस्तावित धर्मदेवी नगरपालिकाको केन्द्रका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका माम्लिङवासी र प्रहरीबीच माम्लिङको याक्खाचोकमा झडप भएको थियो । झडपमा सशस्त्र प्रहरीले नौ राउन्ड हवाई फायर र आठ सेल अश्रुग्यास प्रहार गरेको थियो।

नगरपालिकाको केन्द्र उपयुक्त ठाउँमा नराखिएको भन्दै आन्दोलनकारी स्थानीयले धरानबाट खाँदबारी हिँडेको बसमा ढुंगामुढा गरेपछि झडप भएको हो । उनीहरूले त्यसपछि अनिश्चितकालका लागि यातायात बन्द समेत गराए । स्थानीय तह पुनर्संचना गर्दा तामाफोक, माम्लिङ र आँखीभुई गाविसलाई मिलाएर नगरपालिका बनाउने प्रस्ताव गरिए पनि केन्द्र कहाँ राख्ने भन्ने विषयमा झडप भएको थियो । तामाफोकवासीले मुडे केन्द्र राख्नुपर्ने माग राखेका छन् भने माम्लिङवासीले जौटारमा हुनपर्ने माग गरेका छन् ।

स्थानीय तह पुनर्संरचनाकै विषयलाई लिएर पाँचथरको फिदिममा असन्तुष्ट नागरिक र प्रहरीबीच गत शुक्रबार झडप भयो । त्यसअघि आयोगमा पठाइएको खाका पुनरावलोकनका लागि फिर्ता आएर त्यसमा छलफल भइरहेका बेला जिल्ला विकास समितिको कार्यालयबाहिर झडप भएको हो । फाल्गुनन्द गाउँपालिका बनाउनुपर्ने तथा अखण्ड रानीटार माग गर्दै सयौं संख्यामा फिदिम आएका स्थानीयलाई प्रहरीले नियन्त्रण गर्न खोज्दा झडप भएको थियो।

प्रहरीले आफूहरूलाई लाठी हानेपछि झडप भएको प्रदर्शनकारीको आरोप छ । प्रहरीले दमन गरेको भन्दै प्रदर्शनकारीले धमाधम ढुंगा प्रहार गरेका थिए । प्रहरीलाई ढुंगा बर्साएपछि तनाव बढेको थियो । प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर जिल्ला प्राविधिक कार्यालयको झ्यालका सिसा फुटेका छन् । जिल्लामा यही विषयलाई लिएर दैनिकजसो प्रदर्शन भइरहेको थियो । शुक्रबारको झडपमा दुई प्रहरीलाई चोट लागेको थियो । आन्दोलन समिति सचिव विनोद आङदेम्बेले पाँच प्रदर्शनकारी घाइते भएको बताए ।

थर्पुमा गाउँपालिकाको केन्द्र बनाउनुपर्ने, छिन्टापु गाउँपालिका पनि बनाउनुपर्ने माग गर्दै स्थानीय जिविस पुगेका थिए । समितिमा स्थानीयका गुनासाको संख्या ७० पुगेको छ । उनीहरूका केही माग सम्बोधन भएपछि पुनर्संरचनाको खाका आयोगमा पेस भएको समितिले जनाएको छ । तर, आयोगले जिल्लालाई आठ स्थानीय तह मात्र बनाउन तोके पनि नौवटाको प्रस्ताव आयोगमा गएको छ । थर्पु र मान्द्रेनी गाउँको केन्द्रबारे विवाद कायमै छ । रविमा प्रस्ताव गरिएको फाल्गुनन्द गाउँपालिकाको केन्द्र कन्याटार सार्नुपर्ने, आङसराङ गाविस फुटाउन नहुने लगायत माग अझै समाधान हुन सकेका छैनन्।

सिन्धुलीमा स्थानीय निकाय पुनर्संरचना प्राविधिक समितिले दुई नगरपालिका र ६ गाउँपालिका बनाउने प्रस्ताव गरी त्यसको खाका आयोगमा पठाएलगत्तै जिल्लाका गाउँगाउँबाट त्यसको विरोध भयो । त्यसपछि कडा आन्दोलनको चेतावनी दिँदै जिल्ला विकास समितिको कार्यालयमा धर्ना तथा नारा–जुलुस सुरु भएको छ ।

यसअघि नै घोषणा भएको दुधौली नगरपालिकामा विभिन्न गाविस गाभिएको र ती गाविसमा दुधौली नगरपालिकाको केन्द्र अपायक परेको भन्दै स्थानीय आक्रोशित भए । ठूलो संख्यामा जिविसमा पुगेका उनीहरूले त्यो निर्णय नमान्ने बताए । दुधौली नगरपालिकाको नाम परिवर्तन गरी कमलाखुज नाम राखी सबैलाई पायक पर्ने ठाउँमा केन्द्र रहनुपर्ने माग उनीहरूको छ । स्थानीय सुजन मगरले दुधौली नगरपालिकालाई कमलाखुज नामकरण गरी उचित स्थानमा केन्द्र स्थापना गर्नुपर्ने माग गरे । ‘पहिलो चरणमा गाउँले सबै जुटेर आफ्नो मागसहित ज्ञापनपत्र जिविसलाई बुझाएका छौं । माग पूरा भएन भने हामी जस्तोसुकै आन्दोलन गर्न तयार हुन्छौं,’ उनले भने।

स्थानीय प्राविधिक सहयोग समितिले आठ स्थानीय निकायको प्रस्ताव आयोगमा पेस गरेको थियो । ‘पुनर्संरचना गर्दा भौगोलिक अवस्था र सबैलाई पायक पर्ने गरी गर्नुपथ्र्यो तर त्यस्तो हुन सकेन । त्यसैले हामीले विरोध गरेका हौं,’ हत्पते गाविसका स्थानीय गोविन्द पहाडीले भने, ‘हाम्रो माग सुनुवाई भएन भने कडा आन्दोलनमा जान्छौं ।’

दुई वर्षअगाडि टाँडी, दुधौली र लदाभीर गाविसलाई मिलाएर दुधौली नगरपालिका बनाइएको थियो । हालको पुनर्संरचनामा निपाने, हर्षाही, सिर्थौली हत्पते लगायत गाविस पनि दुधौली नगरपालिकामै समावेश गर्ने प्रस्ताव अगाडि बढाइएको छ।  

राजनीतिक दलका प्रमुखको सहमतिमै आठ स्थानीय निकायको प्रतिवेदन आयोगसमक्ष पठाइएको भए पनि तिनै दलका नेता तथा कार्यकर्ताकै अगुवाइमा गाउँगाउँबाट प्रतिवेदनको विरोध हुन थालेको छ । तीन दिनअघि मात्रै भीमस्थान र बेलघारी गाविसका स्थानीयले महाभारत गाउँपालिका चाहिँदैन, तीनपाटन गाउँपालिका घोषणा गरौं भन्दै जुलुस निकालेका थिए।

‘सबै गाविसको सहज हुने स्थानमा केन्द्र हुने गरी भौगोलिक अवस्थाअनुसार पुनर्संरचना गरिनुपर्छ,’ तीनपाटन गाउँपालिका माग गर्दै जिविस घेराउमा पुगेका स्थानीय योगेन्द्र पराजुलीले बताए । तीनपाटन, दुधौली मात्रै नभएर हालको पुनर्संरचना प्रतिवेदनको विरोधमा जिल्लाभरका स्थानीय उत्रिएका छन् । प्रतिवेदन पठाएकै भोलिपल्ट विरोध सुरु भएको हो । प्राविधिक सहयोग समितिले पठाएको फिक्कल गाउँपालिका आफूहरूलाई अमान्य हुने र अपायक गाउँपालिकाको विरोधमा कडा आन्दोलन गर्ने भुवनेश्वरी गाविसका गौरव कार्कीले बताए ।

(भीम चापागाई इलाम, गिरिराज बाँस्कोटा पाँचथर तथा अनिल भण्डारीले सिन्धुलीबाट पठाएको रिपोर्ट)

प्रकाशित: ८ मंसिर २०७३ ०५:४१ बुधबार

स्थानीय तह पुनःसर्चनाले मुलुकभरि विवाद