राजनीति

'संविधान संशोधनकै लागि यो सरकार गठन भएकाे हाे'

महोत्तरी– शान्ति तथा पूर्ननिर्माण मन्त्री सीतादेवी यादवले संविधान संशोधनकै लागि यो सरकार गठन भएको स्वीकार गरेकी छन्। आफ्नो पार्टी नेपाली कांग्रेसको प्रमुख एजेन्डा नै संविधान संशोधन रहेको भन्दै त्यसैका लागि सरकारको गठन भएको बताएकी हुन्।

कांग्रेसका कोषाध्यक्ष समेत रहेकी मन्त्री यादवले असन्तुष्ट रहेका देशका आधाभन्दा बढी जनसंख्याको इच्छा र चाहना वमोजिम नै संविधान संशोधन हुने बताइन्। ‘संविधानमा असन्तुष्ट रहँदै आएका आधा जनसंख्याको चाहना वमोजिम नै संविधान संशोधनको प्रक्रिया अगाडी बढिसकेको छ, चाँडै नै संविधान संशोधन हुनेछ,’ उनले भनिन्।

संविधान संशोधनको लागि दुई तिहाईको आवश्यकता पर्ने भएकाले सबै दलबीच छलफल भइरहेको र सहमति गर्नुको विकल्प नरहेको उनले बताइन्। संशोधनका लागि एमाले अहिले आनाकानी गरे पनि ऊ पनि सहमति आउने नै विश्वास उनले व्यक्त गरिन्।   

स्थानिय निकायको चुनाव पुरानै संरचनामा गर्दा ठिक हुने बताएकी छिन्।

स्थानीय शान्ति समिति महोत्तरीले मंगलबार जलेश्वरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। मन्त्री यादवले स्थानीय पुर्न संरचना गर्न समय लाग्ने भएकाले पुरानै संरचनामा स्थानीय निकायको चुनाव गर्दा ठिक हुने बताएकी छन्।

‘शान्ति सम्झौता भएको एक दशकभन्दा बढी भइसक्यो द्वन्द्वकालमा भत्किएको भौतिक संरचना निर्माण हुन सकेको छैन,’ यस्तो अवस्थामा अहिले नै स्थानीय निकायको पुर्न संरचना गरेर स्थानीय निकायको चुनाव गर्दा ग्राहो हुन्छ,’ मन्त्री यादवले भनिन् ‘पुरानै संरचनामै स्थानिय निकायको चुनाव हुनु पर्छ । ’  

प्रकाशित: ७ मंसिर २०७३ १२:५४ मंगलबार

संविधान संशोधनकै लागि सरकार गठन भएकाे हाे