राजनीति

माओवादी केन्द्रका दुई केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनले मात्र लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताएका छन्। नेकपा एमाले र माओवादी केन्द्रका नेतालाई मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस प्रवेश गराउँदै देउवाले भने, ‘संविधानलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लैजान अब विलम्ब गर्नु हुन्न।’

संबैधानिक व्यवस्था अनुसार नै २०७४ माघ ७भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नु पर्ने जरुरी रहेको जनाउँदै सभापति देउवा चुनावले मात्र लोकतान्त्रिक गणतन्त्र लिगमा हिंड्ने बताए । आन्दोलनका सबै उपलब्धीहरुलाई जोगाउँदै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन कांग्रेसले आगामी चुनाव जित्नै पर्ने बाध्यता रहेको देउवाको तर्क छ।

‘बहलवादमा आधारित लोकतन्त्रमा विश्वास गर्ने पार्टी  कांग्रेस मात्र हो,’ देउवाले भने, ‘अन्य दलले मल्टीपार्टी डेमोक्रेसीलाई उपयोग मात्र गरेर आफ्नो अभिष्ट पूरा भएपछि अन्यत्रै लाग्न सक्छन् ।’

पार्टी नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडू, बद्री पाण्डेसहित नेताको उपस्थीतिमा सभापति देउवाले नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यद्वय जगदीश पाल र परमानन्द भट्ट तथा एमाले युवा संघ डोटीका अध्यक्ष निलम साउँदलाई पार्टी सदस्यता प्रदान गरेर कांग्रेस प्रवेश गराएका छन्।

कार्यक्रममा बडूले तीनै तहको निर्वाचन पार्टीले जित्ने गरी संगठन विस्तारमा लाग्नु पर्ने जनाए । आन्तरिक प्रतिष्पर्धाभन्दा एकतावद्ध भएर विपक्षीसँग लड्नु पर्ने बताए।    
 

प्रकाशित: ७ मंसिर २०७३ १२:३७ मंगलबार

माओवादी केन्द्रका दुई केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश