राजनीति

संविधान संसोधन प्रस्तावमा तीन दलीय सिण्डिकेट : यादव

वीरगन्ज- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारले भ्रम फैलाएर आफूहरुसँगको सहमति तुहाउन चाहेको आरोप लगाएका छन्। 'संविधान संसोधन गर्न नचाहेर यसअघको सरकारको पतन भयो, संविधान संसोधनको उद्देश्यले नै यो सरकारको गठन भएको थियो। तर यो सरकार पनि आफूहरुको सहमति तुहाउने खेलमा लगे,' वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

उनले विगतका आन्दोलनले उठाइएका मूलभूत मुद्दालाई सम्बोधन नगरिकन अहिले संविधान संसोधनको प्रस्ताव ल्याइएको आरोप लगाए। '३ दलीय सिण्डिकेटले सुरुदेखि देखाएको समावेसी समानुपातिक ब्यवस्थासहितको संघीयता तथा विभिन्न शोषित उत्पीति जनताको भावनाविरोधी चरित्रको निरन्तरता हो। यो हामीलाई मान्य हुँदैन,' उनले भने।

संविधान संसोधन प्रस्ताभित्र राखिएका कुराहरु आफूहरुसँग सहमति नगरिकन ल्याइएको र यसले राजनीतिक समस्याको निकास नदिने उनको भनाई छ।

संघीय संसदमा जनसंख्याको आधारमा प्रतिनिधित्व, माथिल्लो सदनमा हुने कूल प्रतिनिधि संख्यामा प्रदेशको जनसंख्याको प्रतिशतको आधारमा सिट दिनुपर्ने, राज्यका सबै अंगलाई समानुपातिक किसिमले समावेसी बनाउनुपर्ने र मधेश-थरुहट आन्दोलनका घाइतेहरु र सहिदका परिवारलाई उचित क्षतिपूर्ति दिँदै मुद्दामा पारेकाहरुलाई सफाई दिनुपर्नेजस्ता मूलभूत राजनीतिक मागलाई सम्बोधन नगरिकन संविधान संसोधनको अर्थ नहुने उनले बताए।

'उहाँहरुलाई हतार छ, स्थानीय निकाय बनाएर आफू सरकारमा छँदै त्यसको चुनाव गराएर कब्जा गर्ने,' यादवले भने, 'संघीयतालाई कमजोर पार्ने षडयन्त्र हो यो।'

आफूहरु वार्ताको माध्यमले सामाधान खोज्न तत्पर रहेकाले नेकपा एमालेका जिम्मेवार नेताहरुसँगसमेत यी बिषयमा कुराकानी गरिरहेको उनले बतँए। सरकरालाई १५ दिनको अल्टिमेटम दिएको र निकास ननिस्किए जनआन्दोलनको तयारीमा पनि जुटिरहेको उनले बतँए।

प्रकाशित: ६ मंसिर २०७३ ०६:४४ सोमबार

संविधान संसोधन प्रस्तावमा दलीय सिण्डिकेट  यादव