राजनीति

शान्ति प्रक्रियाका बाँकी काम अविलम्व पूरा गर्न माओवादी धारका ९ दलको अपील

माओवादी धारका ९ राजनीतिक दलहरुले आवश्यक कानून बनाई शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार समक्ष अपील गरेका छन्।

आइतबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत संयुक्त अपील जारी गर्दै माओवादी धारका ९ राजनीतिक दलहरुले आवश्यक कानूनहरु बनाई अविलम्व शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्न सरकारलाई अपील गरेका हुन्।

दलहरुले विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालिन घटनाहरुको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै संवैधानिक व्यवस्था भन्दा बाहिर जानु शान्ति सम्झौताका विरुद्ध हुने बताएका छन्।

यसरी संयुक्त रुपमा अपील गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी–माओवादी), नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र आम जनता पार्टी रहेका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी(बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी(माओवादी समाजवादी) र माओवादी कम्युनिष्ट पार्टी, नेपाल पनि रहेका छन्। उनीहरुले कानून परिमार्जनसहित आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशिघ्र पूरा गर्न सरकारसँग माग गरेका छन्।

९ दलले विस्तृत शान्ति सम्झौताका पक्षधर राजनीतिक दलहरु, नागरिक समाज एवं आम समुदायलाई संक्रमणकालिन न्यायको पक्षमा ऐक्यवद्धताका लागि अपील समेत गरका छन्। त्यस्तै विगतमा राज्यले विभिन्न राजनीतिक दलहरुसँग गरेका सहमति कार्यान्वयनका लागि पनि सरकार सँग माग गरेका छन्।

प्रकाशित: २८ फाल्गुन २०७९ ११:३१ आइतबार

माओवादी धारका ९ राजनीतिक दल