राजनीति

सम्पदाको पुनःनिर्माण चाँडो अघि बढाउ: उपराष्ट्रपति पुन

ललितपुर- उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण चाँडो अघि बढाउन सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।

बौद्धविहार सङ्घको ४१औँ वार्षिक साधारणसभाको उपलक्ष्यमा शनिबार सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भूकम्प गएको डेढ वर्ष भइसकेकाले पुनःनिर्माणमा ढिलाइ गर्न नहुने बताए।

संविधानले प्रत्याभूत गरेको धर्म निरपेक्षता यो दशकको उपलब्धि भएको उनले बताए। “नयाँ संविधानले आफ्नो धर्म संस्कृतिको संवद्र्धन गर्ने अधिकार सबै नागरिकलाई दिएको छ,” उनले भने, “सबै नागरिकले एकअर्काको धर्म÷संस्कृतिको पहिचान स्वीकार र सम्मान गर्न खाँचो छ ।”

बौद्ध विहार नेपालको मात्रै नभएर विश्वको नै सम्पदा भएको उनले औँल्याए। उनले भने, “गौतमबुद्ध नेपालमा नै जन्मनु र यस्ता विहार नेपालमा हुनु हामी सबैको गर्वको विषय हो ।” गौतमबुद्धले प्रतिपादित गरेको सिद्धान्त अवलम्बन गर्दा नेपालीले स्थायी शान्ति खोज्न अरु ठाउँमा जानु नपर्ने पुनको भनाई थियो।

बौद्ध विहार सङ्घका अध्यक्ष पुष्परत्न शाक्यले विहारको संरक्षण र संवद्र्धनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। “सुरक्षाको अभावमा कतिपय वस्तु हराएका छन्,” उनले भने, “हराइसकेपछि त्यसलाई म्युजियममा राख्ने मात्रै नभई त्यसलाई संरक्षण र संवद्र्धनमा सरकारले चासो दिनुपर्छ।” रासस

 

प्रकाशित: ४ मंसिर २०७३ १३:३७ शनिबार

सम्पदाको पुनःनिर्माण चाँडो अघि बढाउ उपराष्ट्रपति पुन