राजनीति

नवनिर्वाचित राष्ट्रपति पौडेल राजनीतिक जिम्मेवारीबाट अलग

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल राजनीतिक जिम्मेवारीबाट अलग भएका छन्।

उनले आइतबार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई पार्टीका सबै जिम्मेवारीबाट अलग भएको व्यहोरा सहितको पत्र बुझाएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले नागरिक न्यूजलाई जानकारी दिएका हुन्।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति पदमा रहेको व्यक्तिले स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्छ। त्यसैलाई मध्यजनर राख्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले आफू राजनीतिक क्षेत्रका सबै जिम्मेवारीबाट अलग भएको पत्र बुझाएका हुन्।

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन्। मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए।

प्रकाशित: २८ फाल्गुन २०७९ ०९:०२ आइतबार

रामचन्द्र पौडेल