राजनीति

महाभियोग प्रस्ताव तत्काल सिफारिस समितिमा पठाउन माग

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव तत्काल सिफारिस समितिमा पठाउन सांसदले माग गरेका छन्। संसद्को शुक्रबारको बैठकमा बोल्ने अधिकांश सांसदले महाभियोग प्रस्तावमाथि सदनमा अनावश्यक छलफल भइरहेको भन्दै तत्काल समितिमा पठाउन माग गरेका हुन्।

नेपाली काग्रेसका सांसद राधेश्याम अधिकारीले विभिन्न बहानामा महाभियोगमाथि छलफल लम्बिएको बताउँदै तत्काल समितिमा पठाउन माग गरे। कानुनभन्दा माथि कोही छैन भन्ने देखाउन कार्कीविरुद्धको महाभियोग प्रस्ताव पारित हुनुपर्ने उनको भनाइ थियो। 'यो छलफल चाडपर्व र अन्य बहानामा लम्बिँदै गएको छ', अधिकारीले भने, 'किन यसरी लम्बियो भन्ने विषयमा जनतामा भ्रम उत्पन्न गर्ने काम सुरु भइसकेको छ।' संसद् आफ्नो मर्यादाभन्दा बाहिर गएको भनी टीकाटिप्पणी सुरु भइसकेको उनले बताए। अख्तियारले आतंकित पार्ने काम फेरि सुरु गरेकाले संसद्को सुशासन समितिले काम गर्नुपर्ने उनको भनाइ थियो।

एमाले सांसद प्रकाश ज्वालाले पनि लम्बेतान छलफलभन्दा सिफारिस समितिमा पठाउने समय भएको तर्क गरे। उनले पनि अख्तियारको आतंक रोक्न सुशासन समिति सक्रिय हुनुपर्ने बताए। 'अख्तियारले प्रतिशोधका आधारमा धेरै पहिलेदेखि काम गर्दै आएको थियो', ज्वालाले भने, 'संविधान निर्माणका समयमा अख्तियारको अधिकार रहेको अनुचित कार्य हटाउँदा मस्यौदा समितिका सचिवलाई भोलिपल्टै पत्र आएको थियो।'

धम्क्याउने नियतले कयौं पटक पत्र काटेको र संसदीय समितिलाई अटेर गर्ने कार्य कार्कीले गर्दै आएको ज्वालाले बताए। 'कार्कीले संसद्को समितिलाई टेरेनन्', ज्वालाले भने, 'समानान्तर सरकार सञ्चालन गर्नेसम्मका काम गरे।' यसरी सुरु भएको गलत अभ्यास सच्याएर आगामी दिनमा नियुक्त हुने संवैधानिक निकायका प्रमुखलाई सचेत गराउन पनि छिटो महाभियोग पारित हुनुपर्ने तर्क ज्वालाले गरे।

एमाले सांसद अमृतकुमार बोहोराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कमजोर पार्ने कार्य कहीं कतैबाट हुन नहुने बताए। 'रक्षक नै भक्षक भएकाले महाभियोग प्रस्ताव दर्ता भएको हो', बोहोराले भने, 'कार्कीलाई हटाउने कुरामा अब कुनै पनि दल दुविधामा रहनु हुँदैन।' उनले पनि संसद्मा अनावश्यक छलफल गरी लम्ब्याउनुभन्दा प्रस्तावलाई तत्काल समितिमा लगेर टुंग्याउनुपर्नेमा जोड दिए।

नेपाली काग्रेसका रामहरि खतिवडाले महाभियोग प्रस्तावमाथिको छलफल लम्बिनुको कारण जनतालाई जानकारी दिन माग गरे।

माओवादी केन्›का सांसद गिरिराजमणि पोखरेलले पनि महाभियोग प्रस्ताव छिटो सिफारिस समितिमा पठाउन माग गरे। 

एमाले र माओवादी केन्›का १ सय ५७ सांसदले कार्कीविरुद्ध कात्तिक ५ गते  महाभियोग प्रस्ताव दर्ता गराएका थिए। 

कात्तिक ३ गते संसद्मा दर्ता भएको महाभियोग प्रस्तावमाथिको छलफल कात्तिक ९ गते सुरु भएको थियो। छलफल अझै सकिएको छैन। बैठक नियमित बस्न नसक्दा एक महिनामा जम्मा चार दिनमात्र छलफल भएको छ।

सभामुख ओनसरी घर्तीमगरले आइतबारसम्ममा  सिफारिस समितिमा पठाउन आफूले पहल गर्ने बताइन्। उनी आइतबार साँझ एक साताका लागि रसिया जाने कार्यक्रम छ। त्यसअगाबै प्रस्ताव सिफारिस समितिमा पठाउन दलहरूसँग छलफल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन्।

प्रकाशित: ४ मंसिर २०७३ ०२:१७ शनिबार

महाभियोग प्रस्ताव तत्काल सिफारिस समितिमा पठाउन माग