राजनीति

लोसपा–जनमत–नाउपा कार्यगत एकता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कार्यगत एकता गर्ने भएका छन्। लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कार्यगत एकताका लागि शनिबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। जनमतका महासचिव चन्दन सिंहले आन्दोलनकारीका मुद्दालाई अघि बढाउन तथा आफूहरूका अजेन्डालाई सशक्त रूपमा अगाडि बढाउन तीन पार्टीबीच कार्यगत एकता भएको बताएका छन्। ‘यो कार्यगत एकता उपराष्ट्रपतिको निर्वाचनमा पनि हुनेछ,’ उनले भने।

प्रतिनिधिसभा तथा प्रदेशसभामा यी तीन पार्टीको उपस्थिति रहेको छ। यी तीनवटै पार्टी सत्तारुढ गठबन्धनमा सहभागी छन्। यी पार्टीले उपराष्ट्रपतिको निर्वाचनमा भने जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार रामसहाय यादवलाई सहयोग नगर्ने भएका छन्। नाउपाकी नेत्री ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी छन्।

झालाई लोसपा र नाउपाले सहयोग गर्ने नाउपाका महासचिव सिंहले बताए। उनले भने, ‘हामीले कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता लिन्नौं।’ झाको प्रस्तावक र समर्थकमा लोसपा र नाउपाका नेताहरू प्रस्तावक र समर्थक बसेका छन्।

उपराष्ट्रपति पदमा जसपालाई रोक्न लोसपा, जनमत तथा नागरिक उन्मुत्तिले कार्यगत एकता गरेको जसपाका नेताहरूको बुझाइ छ। उपराष्ट्रपति पदमा जसपालाई दिने सहमति यसअघि नै सत्तारुढ गठबन्धनबीच भइसकेको जसपाका नेताहरूको भनाइ छ। तर नाउपाका नेताहरूले भने जसपालाई उपराष्ट्रपति दिने सहमति नभएको दाबी गरेका छन्। लोसपा र नागरिक उन्मुक्ति पार्टीले यसअघि नै सहकार्य गर्ने घोषणा गरेका थिए। शनिबारदेखि यसमा जनमत पार्टी पनि थपिएको छ।

प्रकाशित: २८ फाल्गुन २०७९ ००:४८ आइतबार

लोसपा–जनमत–नाउपा कार्यगत एकता सहमतिपत्रमा हस्ताक्षर