राजनीति

संगठन विस्तार अभियानमा मधेसी दल

काठमाडौं- संविधान संशोधन गर्न दबाब दिइरहेका मधेसी मोर्चामा आबद्ध दलले भित्रभित्रै संगठन विस्तार अभियान तीव्र पारेका छन्। मागबमोजिम संविधान संशोधन भए चुनाव आफ्नो पक्षमा पार्न ती दल संगठन विस्तारमा जुटेका हुन्।

दसैं, तिहार र छठपछि मोर्चामा सम्मिलित दल पार्टीका आन्तरिक गतिविधि र संगठन विस्तारमा सक्रिय छन्। मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले बुधबारदेखि नयाँ सदस्यता वितरण अभियान थालेको छ। तमलोपाको संगठन अहिले मधेसका २२ जिल्ला, काठमाडांै, ललितपुर, भक्तपुर, कालीकोट र काभ्रेपलाञ्चोक जिल्लामा  छ। तमलोपा केन्द्रीय सदस्य  सुरेश मण्डले पुस १५ सम्म सदस्यता नवीकरण र नयाँ सदस्य बनाउने अभियान थालिएको बताए। 'हाम्रो अनुकूल संविधान संशोधन भए पार्टी अभियान चुनाव केन्द्रित हुनेछ। अनुकूल संविधान संशोधन नभए चुनाव हुन नदिने हाम्रो अभियान हुने छ', मण्डलले भने।

उनका अनुसार मोर्चा आबद्ध अन्य दल पनि यही उद्देश्य राखेर संगठन विस्तार अभियानमा लागेका छन्। संगठन विस्तार गर्न तमलोपा अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदेयश त्रिपाठी, नेता सर्बेन्द्रनाथ शुक्ललगायत नेता विभिन्न जिल्लामा खटिएका छन्। अध्यक्ष ठाकुरले बुधबार काठमाडौंका कार्यकर्तालाई प्रशिक्षण दिए। प्रशिक्षणमा उनले संघीय संरचना अनुसार पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने बताएका थिए।

यस्तै संगठन विस्तार अभियानमा मोर्चाको अर्को घटक सद्भावना पार्टी पनि लागेको छ। सद्भावना पार्टीका नेताहरू १४ वटा भ्रातृ संगठनको अधिवेशन पुसमा गर्नेगरी गाउँगाउँ खटिएका छन्। मंसिरभित्र सबै भ्रातृ संगठनको जिल्ला अधिवेशन गरिसक्न सद्भावना केन्द्रीय समितिले जिल्ला, क्षेत्रीय, नगर र गाउँ समितिलाई निर्देशन दिएको छ। सो पार्टीले मधेसका एक हजार तीन सय गाविसमा समिति विस्तार गर्न लागेको नेताहरू बताउँछन्। 'भनेअनुसार संविधान संशोधन भए हाम्रो संगठन विस्तार चुनावका लागि  हुनेछ नत्र चुनाव बिथोल्न', सद्भावनाका महासचिव मनीष सुमनले भने। संविधानमा सकारात्मक संशोधन भए चुनावमा नभए आन्दोलनमा जानेगरी संगठन विस्तार अभियान सुरु भएको जानकारी सुमनले दिए।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले पनि केन्द्रीय सदस्यलाई जिल्ला–जिल्लामा गई नयाँ सदस्यता बढाउन निर्देशन दिएको छ। केन्द्रीय सदस्यलाई गाविस र जिल्ला पुगेर संगठन विस्तार गर्न निर्देशन दिइएको सो पार्टी राजनीतिक समिति सदस्य वीरेन्द्र महतोले बताए।

शरदसिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीले पनि संगठन विस्तार अभियान थालेको छ। सो पार्टीले आगामी १७, १८ र १९ गते अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राख्ने भएको छ। 'संविधान संशोधन नभए हामी आन्दोलन सुरु गर्छौं। त्यसको तयारीका लागि पनि हामीले संगठन विस्तार अभियान सुरु गरेका हौं', पार्टी महासचिव केशव झाले भने।

यसैगरी संसद्मा एक सांसद भएको नेपाल सद्भावना पार्टी पनि संगठन विस्तारमा जुटेको छ। सो पार्टीका अध्यक्ष अनिल झा तराईका जिल्लामा पार्टीको काम गरेर केही दिनअघि मात्र काठमाडौं फर्केका छन्। तराई मधेस सद्भावना पार्टी पनि महाधिवेशन तयारीमा लागेको छ। पार्टी अध्यक्ष महेन्द्र यादवले चाँडै महाधिवेशन गर्नेगरी संगठन विस्तार काम भइरहेको बताए।

प्रकाशित: ३ मंसिर २०७३ ०२:२१ शुक्रबार

संगठन विस्तार अभियानमा मधेसी दल