राजनीति

दाहालविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिटमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासले सो आदेश दिएको हो।  

संक्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुंगो नलागेको विषयमा प्रस्तुत रिट निवेदनबारे के कसो भएको हो, निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने लिखित जवाफ माग गरिएको छ।

माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रधानमन्त्री स्वयम्ले वा कानून बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रतिवादीहरुले महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ।

सर्वोच्चले आन्तरिम आदेश जारी गर्नुपर्ने आवश्यकता नदेखिएको जनाएको छ।

दाहालले २०७६ साल माघ १ गते काठमाडौंको खुलामञ्चमा गरेको भाषणलाई आधार बनाएर रिट निवेदन दर्ता गरिएको थियो। त्यसबेला दाहालले द्वन्द्वकालमा मारिएकामध्ये ५ हजार व्यक्तिको जिम्मा आफूले लिने बताएका थिए। दाहालले व्यक्ति हत्याको जिम्मा लिन्छु भन्नु विधिको विडम्बना भएको रिट निवेदनमा उल्लेख छ।

प्रकाशित: २६ फाल्गुन २०७९ ११:१७ शुक्रबार

पुष्पकमल दाहाल