राजनीति

अवहेलना मुद्दा खारेज गर्न कार्कीको माग

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा आफैं सर्वोच्च अदालत उपस्थित भएर जवाफ दिएका छन्।

अख्तियार प्रमुख आयुक्तमा नियुक्ति र योग्यतासम्बन्धी पुनरवलोकन मुद्दाको म्याद तामेलीमा आफन्त लगाएर अवरोध पु¥याएपछि कार्कीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै अर्को मुद्दा परेको थियो । 

आदेशबमोजिम लिखित जवाफसहित मंगलबार करिब चार बजे सर्वोच्च अदालत उपस्थित भएका कार्कीले आफूले अदालतको आदेश अवहेलना नगरेकाले आफूविरुद्धको उक्त मुद्दा खारेज हुनुपर्ने जिकिर गरेका छन् ।

अख्तियारमा नियुक्तिपछि आफू सरकारी निवास टंगालमा बस्दै आएको र वानेश्वारस्थित आफ्नो घर भाडामा रहेकाले म्याद तामेलीमा समस्या देखिएको जिकिर कार्कीको छ । आफू नबस्ने घर (भाडामा दिएको) कै कारण म्याद तामेलीमा समस्या भएकाले त्यसलाई अवहेलनाको रुपमा लिन नमिल्ने जिकिर कार्कीको छ ।

‘मेरो विरुद्धमा यसअघि जति मुद्दा परे ती सबैको म्याद म बसिरहेको अख्तियारको सरकारी निवासमा नै तामेल भएका थिए,’ जवाफमा छ, ‘त्यसरी बसोबास गरिरहेको वास्तविक वतनमा तामेल भएका म्यादमा कहिल्यै पनि कुनै अनपेक्षित स्थिति सिर्जना नभएकाले मैले सम्मानित अदालतबाट हुने प्रत्येक न्यायिक कार्यमा सहयोग पु¥याएको प्रमाणित छ ।’  आफू नेपालमा नरहेको समयमा तथा नबस्ने घरमा गएर म्याद तामेली प्रयास बदनाम गराउने प्रयोजनमा आधारित भएको दाबी कार्कीको छ ।

उनले किन, कसरी र कुन उद्देश्यले उक्त घरमा म्याद तामेली गर्न लगियो भन्नेबारे आफू स्वयं आश्चर्यमा परेको जवाफ दिएका छन् ।  उनले आफूले कसैलाई पनि कुनै किसिमको प्रभावमा नपारेको जिकिर गरेका छन् ।  सर्वोच्च अदालतले म्याद तामेली अवरोध प्रकरणमा दायर (अवहेलना) मुद्दामा कार्की र उनको ‘प्रतिकार समूह’ का आफन्तलाई न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले कात्तिक २३ गते सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन आदेश दिएको थियो । सर्वोच्चको यो आदेशसँगै अवहेलना मुद्दामा कार्कीका ज्वाईं प्रबल थापालगायत तानिएका छन् । यसै मुद्दामा तानिएका पूर्व कानुनसचिव प्रमोद कार्की सोमबार लिखित जवाफसहित अदालत उपस्थित भएका थिए । उनले  आफूले अदालतको अवहेलना नगरेकाले मुद्दा खारेज हुनुपर्ने माग गरेका थिए ।

कार्कीको ‘प्रतिकार समूह’ ले म्याद तामेलीमा अवरोध गरेपछि चारजनाविरुद्ध कात्तिक १२ गते ‘अदालतको अवहेलना मुद्दा’ दर्ता भएको थियो ।

कार्कीविरुद्धको मूल मुद्दा (अख्तियारमा नियुक्ति र योग्यतासम्बन्धी) का  निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले नै अबहेलना निवेदन दर्ता गराएका हुन् । उनले अबहेलना मुद्दामा कार्की, उनका कान्छा ज्वाईं थापा, पूर्व कानुन सचिव कार्की, महानगरीय प्रहरी वृत्त बानेश्वरका सई नकुलराज गौतमलाई विपक्षी बनाएका छन् । कार्कीको म्याद तामेली पहिलो तामेलदार शम्भु खत्रीबाट नभएपछि नयाँ तामेलदारले चलाखीपूर्वक गराएका थिए ।

म्याद तामेलीमा अवरोध गर्ने कार्य न्याय सम्पादनविपरीत भएकाले किन कारबाही नगर्ने भन्दै अदालतले कार्कीसहित विपक्षीसँग लिखित जवाफ मागेको थियो । म्याद तामेलीमा अवरोध गरेको कसुर  ठहर भए मुलुकी ऐनको अदालतको बन्दोबस्तीसम्बन्धी महल अनुसार १५ दिन कैद, एक हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । मुलुकी ऐनको उक्त व्यवस्थाबमोजिम सात दिनभित्र अदालतमा आफैं उपस्थित नभए उनीहरूमाथि कारबाही हुने  थियो  । अदालतको आदेश बुझेको मितिबाट सात दिनको अवधि गणना हुन्छ ।

पूर्व कानुन सचिव कार्कीले आफूलाई वडा नागरिक मञ्चको अध्यक्ष दाबी गर्दै सम्बन्धित व्यक्ति नबस्ने घरमा म्याद तामेल गर्न नमिल्ने तर्क तामेलदारसँग गरेका थिए । थापा र सई गौतमले पनि कार्कीको पक्षमा सर्वोच्चका कर्मचारीलाई अवरोध गरेका थिए ।

यसअघि सर्वोच्चले म्याद तामेलीमा असहयोग गरेको भन्दै तामेलदार खत्री, काठमाडौं महानगरपालिका वडा नम्बर १० की वडा सचिव सरिता राई र खरिदार सुभास आचार्यसँग पनि लिखित जवाफ मागेको थियो। उनीहरूले पनि आफूहरूले असहयोग नगरेको जवाफ दिइसकेका छन्।

 

प्रकाशित: १ मंसिर २०७३ ०१:५६ बुधबार

अवहेलना मुद्दा खारेज गर्न कार्कीको माग