राजनीति

अखिल क्रान्तिकारीले गर्‍यो उम्मेदवारी घोषणा

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि अखिल क्रान्तिकारीले उम्मेदवारी घोषणा गरेको छ।

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको हो।

क्रान्तिकारीले सभापतिमा रादव र सचिवमा आशिका लम्साललाई उम्मेदवार बनाउने जनाएको छ। अखिल क्रान्तिकारीले बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो लगाउने अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको इन्चार्ज अभिमन्यु यादवले बताए।

महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापातिको उम्मेदवारी दिएका यादव महेन्द्र मोरङ क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्यरत रहेका छन्। सचिवको उम्मेदवार दिएकी लम्साल राजनीतिकशास्त्र लिएर स्नातक तहमा अध्यनरत छिन्। उनी अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीका अध्यक्ष पनि हुन्।

महेन्द्र मोरङ क्याम्पसमा स्ववियुमा २१ सदस्यीय कार्यसमितिको लागि हुन लागेको निर्वाचनमा ५ हजार ९ सय ४२ जना मतदाता रहेका छन्।

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका अनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ। कार्यतालिका अनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

प्रकाशित: २५ फाल्गुन २०७९ ०१:०५ बिहीबार

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अखिल क्रान्तिकारीले उम्मेदवारी घोषणा