काठमाडौं–सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले वर्तमान सरकारले राष्ट्रिय सहमतिको वातावरण बनाउनेजस्ता महत्वपूर्ण कामहरु गरेको भन्दै सरकारको सय दिने कार्यकाल सफल रहेको दाबी गरेका छन्।
शनिबार राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा नेता सापकोटाले राजनीतिक पहलकदमी लिने कुरामा सरकार सफल रहेको उल्लेख गर्दै सहमतिमै संविधान संशोधन गरेर तीन वटै निकायको निर्वाचन गर्नकालागि सरकारले गम्भिर पहल गरिरहेको बताए। सापकोटाल सीमांकन, भाषा, नागरिकता, राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संविधान संशोधन गर्ने तयारी भैसकेको समेत जिकिर गरे ।
उनले भने, ‘भाषाको विवाद अब भाषा आयोगले समाधान गर्छ, त्यस्तै प्रतिनिधि सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व हुने कुरामा छलफल भएको छ, त्यस्तै अहिले नागरिकताको बारेमा अनावश्यक अतिरञ्जनापूर्ण प्रचार भैरहेपनि अन्तरिम संविधानको प्रावधान अनुसार अगाडि बढ्नेगीर कुरा भैरहेको छ ।’ प्रदेशको सीमांकनको विवाद समाधानको लागि शक्तिशाली आयोग गठन गर्ने र त्यही अनुसार अघि बढ्ने समेत उनले खुलासा गरे।
उनले दाहाल नेतृत्वको सरकारले उच्च अदालतको स्थापना गरेको, संविधान कार्यान्वयन र निर्वाचनको लागि आवश्यक कानूनहरु निर्माणमा तिव्रता दिएको, भूकम्प पीडितलाई राहत र पुर्ननिर्माणको कामलाई तिव्रता दिएको, विकास निर्माणका कामलाई प्राथमिकता दिएको, राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै सम्पन्न गर्नको लागि निर्देशन दिएकोजस्ता उल्लेखनीय काम गरेको भन्दै जनताको मन जित्न सफल भएको विश्वास व्यक्त गरे।
उनले प्रतिकुल परिस्थितिमा पनि सरकारले सहमतिकालागि पहलकदमी लिन खोज्नु र मुलुकलाई गति दिन खोज्नु सकारात्मक कदम भएको भन्दै सरकारको कामलाई प्रशंसा गर्नुपर्ने बताए।
उनले मन्त्रिपरिषद एवम् सचिवालयलाई चुस्तदुरुस्त बनाएर अघि बढे अझै गतिशीलका साथ यो सरकारले काम गर्न सक्ने विश्वास व्यक्त गरे । सापकोटाले भने,‘अहिले जस्तोसुकै सरकार भएपनि यो भन्दा बढि काम हुन सक्दैनथ्यो, अब हामी आरोप र प्रत्यारोपमा उत्रिनुहुँदैन्।’ उनले आधारभूत रुपमा सरकार सफल भएको समेत दाबी गरे ।
प्रकाशित: २७ कार्तिक २०७३ ०८:२४ शनिबार