राजनीति

मजदुरका समस्या समाधान गर्छु: प्रधानमन्त्री

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले मजदुर वर्गको समस्या समाधानका लागि आफू र आफ्नो सरकार गम्भीर रहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा आज पुगेको अखिल नेपाल ट्रेड युनियन महासङ्घको प्रतिनिधि मण्डलसँग भएको भेटमा उनले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत सङ्घर्षमा रहेको भन्दै अहिले सरकारमा रहेर मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरेका छन्।

वर्तमान सरकारले सक्ने जति समस्या समाधान गर्न आफ्नो ध्यान गएको स्पष्ट गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि सबै क्षेत्रबाट सहयोग आवश्यकपर्ने बताएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार  गोविन्द आचार्यले जानकारी दिए।

भेटमा महासङ्घका अध्यक्ष शालिकराम जम्मकट्टेलले केही समयअघि पारित भएको औद्योगिक व्यवसाय ऐन मजदुरको पक्षमा नभएको भन्दै यसलाई संशोधन गर्न तथा संसद्मा पुगेको श्रम ऐनको संशोधन विद्येयक र सामाजिक सुरक्षा ऐनलाई मजदुरमैत्री बनाउन आग्रह गरेका थिए।

उनले संविधानमा राष्ट्रिय मजदुर आयोगको व्यवस्था, मजदुरको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्न, यातायात क्षेत्रका मजदुरका समस्या सम्बोधन गर्न, ‘इ’ रिक्सालाई व्यवस्थित गर्न नियमावली तयार गर्न तथा सरकारी ज्यालादारी र करारमा नियुक्त कर्मचरी, कामदारलाई अन्य सरकारी कर्मचारीसरह सेवा सुविधा दिन आग्रह गरेका थिए। रासस

प्रकाशित: २७ कार्तिक २०७३ ०६:०८ शनिबार

मजदुरका समस्या गर्छु प्रधानमन्त्री