राजनीति

छड्के जाँचमा मन्त्री पुग्दा कर्मचारी गयल, ‘एक्सन’ लिने चेतावनी

काठमाडौँ-उद्योग विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सेवाग्राहीबाट गुनासा आएपछि उद्योगमन्त्री नवीन्द्रराज जोशीले ती कार्यालयमा अनुगमन गरेका छन् ।

मन्त्री जोशी बिहीबार बिहान १०:१५ मा विभाग र कार्यालय पुग्दा अधिकांश कार्यकक्ष खाली थिए । विभागका महानिर्देशक कार्यालयमा थिए तर कम्पनी रजिस्ट्रार कार्यकक्षमा थिएनन् ।

विभाग र कार्यालयको अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री जोशीले भने, “जनताले सुशासन अनुभूत गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता हो । सोही अनुसार मन्त्रालयसँग सम्बन्धित कार्यालयको अनुगमन गर्नेछु ।” उनले सेवाग्राहीले बेरोकतोक सेवा पाउनुपर्नेमा जोड दिँदै अनुगमनलाई निरन्तरता दिइने बताए ।

उद्योग मन्त्रीले आफ्नो मन्त्रालयको कार्यसम्पादनलाई सही तवरले अगाडि बढाउन चाहेको बताउँदै त्यस कार्यलाई सहयोग नगर्नेप्रति कारबाही गर्ने चेतावनी पनि दिए । उनले भने  “कार्य सम्पादनमा इमान्दार नहुनेमाथि ‘एक्सन’ लिन्छु ।” रासस

प्रकाशित: २५ कार्तिक २०७३ १०:५९ बिहीबार

छड्के जाँचमा मन्त्री पुग्दा कर्मचारी गयल एक्सन लिने चेतावनी