राजनीति

कार्कीका स्वकीय सचिव डिएसपी थापा तानिए

लोकमानसिंह कार्कीको विदेश भ्रमणमा सँगै रहेका डिएसपी दानबहादुर थापा (बायाँबाट पहिलो)। तस्बिर : दानबहादुर थापाको फेसबुक वालबाट।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका स्वकीय सचिव डिएसपी दानबहादुर थापा प्रहरी प्रधान कार्यालय तानिएका छन्। नेपाल प्रहरीमा एक वर्षमा हुने अनिवार्य सरुवा प्रक्रियामा नपरेका थापा २०७० माघदेखि अख्तियारमै काज र दरबन्दी मिलाउँदै बसेका थिए।

प्रहरी प्रवक्ता डिआइजी हेमन्त मल्लले संयुक्त राष्ट्रसंघको फर्म्ड पुलिस युनिट (एफपियू) मा छनोट भएका थापालाई तालिमका लागि झिकाइएको बताए। डिआइजी मल्लका अनुसार गत भदौमा सम्पन्न एफपियूको छनोटमा थापा उत्तीर्ण भएका हुन्। कार्कीका विश्वासपात्र थापा अख्तियारलाई संवैधानिक भन्दा कार्यकारी निकायका रुपमा स्थापना गराउने सदस्यमध्ये एक थिए।

अख्तियार स्रोतका अनुसार प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागको सञ्चालन र कार्य सम्पादनमा निर्देशन कार्कीको देखिए पनि योजनाकारमध्येका एक थापा आफ्ना समकक्षीलाई पाखा लगाएर डिएसपीमा बढुवा भएका थिए। थापा रोलक्रममा ४१औं स्थानमा भए पनि डिएसपीमा बढुवा पाएका थिए। प्रहरी निरीक्षक छँदा कार्कीका व्यक्तिगत सुरक्षाकर्मी बन्न अख्तियार पुगेका स्याङ्जाका थापाले अन्य उम्मेदवारको तुलनामा ६ महिना जुनियर भए पनि बढुवामा रोकिनु परेन।

अख्तियारमा रहँदासम्म कार्कीको छायाजसरी उनको स्वदेश र विदेश भ्रमणदेखि प्रमुख भेटघाटमा सहभागी हुने गरेका थापाले गृह मन्त्रालयका उच्च अधिकारीदेखि आफ्नै संगठनका प्रमुखसम्ममा प्रभाव कायम राखेका थिए। संसद्मा महाभियोग र सर्वोच्च अदालतमा मुद्दा पुनरावलोकन भएपछि कार्कीलाई विभिन्न स्थानमा ल्याउन र पुर्‍याउन व्यस्त थापा सुरक्षित अवतरणका लागि तालिमको प्रपञ्च मिलाएर विदेश जाने योजनामा रहेको स्रोतले बतायो।

सुरक्षा निकायमा बोलबाला

अख्तियार नेपाल प्रहरी र गुप्तचर विभागका लागि आकर्षकमात्र होइन, शक्ति प्रदर्शन गर्ने निकायका रुपमा स्थापित भएको छ। अख्तियारको दरबन्दीमा गएको प्रहरीले मागेको स्थान पाउने र उसको सिफारिसले समेत प्रहरी प्रधान कार्यालयसम्म प्रभाव पार्ने गरेको छ। अख्तियारमा बसेका एआइजी वीरेन्द्रबाबु श्रेष्ठ, डिआइजी पशुपति उपाध्याय, एसएसपी केदार रिजाल र शेरबहादुर बस्नेतले अख्तियार छाडेपछि पाएको स्थानले समेत यसलाई पुष्टि गर्छ। कार्कीको व्यक्तिगत सहयोगी बनेका डिएसपी दानबहादुर थापाले अति व्यस्तता हुँदाहुँदै पनि एफपियू मिसनमा स्थान पाउनुमा अख्तियारकै प्रभावले काम गरेको प्रहरी प्रधान कार्यालय निकट स्रोतले बतायो।

सशस्त्र प्रहरीका एक पूर्व आइजिपीका अनुसार सशस्त्रका महानिरीक्षक र प्रहरीका केही अधिकारीलाई 'स्ट्रिङ अपरेसन' मा फसाएपछि कार्कीले सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा एकलौटी प्रभाव स्थापित गरेका थिए।

'प्रहरीलाई दातृ राष्ट्रबाट प्राप्त प्राविधिक सहयोग र उच्च तहको तालिम लिएका प्रहरी अधिकारीको संयन्त्रबाट बजार, व्यक्ति र संस्थाको गुप्तचरी भइरहेको थियो, सशस्त्रका घुमुवा र नेपाल प्रहरीको विशेष कार्यदलको प्रयोगसमेत लोकमानकै निर्देशनमा हुन्थ्यो,' ती आइजिपीले भने।

प्रमुख आयुक्त भएपछि कार्कीले आफूले चाहेका दुई सय २७ प्रहरीको विशेष डफ्फा बनाएका थिए। सादा पोसाकका उनीहरूसँग हातहतियार तथा आधुनिक उपकरण थिए। अख्तियारमा कार्कीको रोजाइमा परेका डिआइजीसहित दुई एसएसपी, ११ एसपी, १९ डीएसपी, ३४ इन्स्पेक्टर, २६ सबइन्स्पेक्टर, २१ असई, २७ हबल्ादार, ८४ जवान र दुई कार्यालय सहयोगी उक्त डफ्फामा थिए। कार्कीले बारम्बार पत्र नै काटेर प्रहरी प्रधान कार्यालयसँग चाहेका सुरक्षा अधिकारी माग्ने गरेका थिए।

अवैध गुप्तचरीमा अख्तियार

लोकमानसिंह कार्कीको औपचारिक र अनौपचारिक सचिवालयमार्फत चाहेको व्यक्तिको अति व्यक्तिगत सूचना निकाल्न प्रहरी र गुप्तचरी संयन्त्र प्रयोग भइरहेको स्रोतले बतायो। डिएसपी थापाको नेतृत्वमा पाँचजना प्रहरी रहेको प्राविधिक टोलीले लक्षित व्यक्तिको मोबाइलको लोकेसन, उसले फोन गरेको विवरण र उसको हिँडडुलसमेत निगरानीमा राख्ने गरेको थियो। स्रोतका अनुसार कार्कीलाई रिझाउन सक्रिय व्यापारी समूहको लगानीमा आवश्यक सफ्टवेयरसमेत अख्तियारले प्रयोगमा ल्याएको थियो।

प्रकाशित: २५ कार्तिक २०७३ ०२:०० बिहीबार

कार्कीका स्वकीय सचिव डिएसपी थापा तानिए