राजनीति

भारतीय सेनाध्यक्ष शुक्रबार नेपाल आउने

काठमाडौँ- भारतका स्थल सेनाध्यक्ष दलवीर सिंह नेपालको तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौँ आउने भएका छन्।  

प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। सेनाध्यक्ष सिंह नेपाली सेनाको मानार्थ महारथी पनि हुन्। नेपाल र भारतबीच एकअर्का मुलुकका सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रही आएको छ । उनले यस अघि २०७१ साल कात्तिकमा पनि नेपालको औपचारिक भ्रमण गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँणसँग नेपाल भ्रमणको क्रममा उनले शिष्टाचार भेट गर्नेछन्। सेनाध्यक्ष सिंहले नेपाली सेना र भारतीय सेनाबीच रुपन्देहीको सालझण्डीमा कातिक १५ देखि सञ्चालन भइरहेको संयुक्त अभ्यास ‘सूर्य किरण’को निरीक्षण पनि गर्ने छन् । यो सूर्य किरणको दशौं संस्करण अभ्यास हो।

उच्च तहको सैनिक नेतृत्वबाट हुने भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध र द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। रासस

 

प्रकाशित: २४ कार्तिक २०७३ १४:४० बुधबार

भारतीय सेनाध्यक्ष शुक्रबार नेपाल आउने