राजनीति

मुखर्जीलाई कालो झण्डा देखाउने सबै मुक्त

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल

काठमाडौं– भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडि कालो झण्डा देखाउने क्रममा कार्तिक १७ गते करिव १२ बजे प्रक्राउ परेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालसहित अन्य ४ जना हिरासत मुक्त भएका छन्।

जिल्ला प्रशासन कार्यलय काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मंगलबार १ महिने तारिखमा उनीहरुलाई रिहा गरेको हो। यएरपोर्ट अगाडि ग्रेटर नेपालका अध्यक्ष नेपालले प्रहरी घेराबिच कालो झण्डा देखाउँदै ‘भारतीय विस्तारवाद मुर्दाबाद’ भन्ने नारा लगाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो।

नेपाल र रामचन्द्र खड्कालाई पहिलो रात बालाजु प्रहरी बृत्तमा र तिलक रावल, योगेश बराल र अधिकारकर्मी शारदा भुसाल झालाई कमल पोखरी प्रहरी वृत्तमा राखिएको थियो भने भोलिपल्ट पाँचै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो।

उनीहरुलाई केही सार्वजनिक अपराध मुद्दामा मुलुकी ऐन अ.ब. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई हिरासतमा राखिएको थियो । सामाजिक सञ्जालमा यो पक्राउको व्यापक विरोध भएपछि कार्तिक १९ गते प्रणव मुखर्जी फर्किए लगतै राती ८ः०० बजे उनीहरुलाई कात्तिक २२ गते हाजिर हुने शर्तमा घर फर्कन दिइएको थियो। कात्तिक २२ गते वयान नै नलिई दिनभरी काठमाडौं परिसरमा राखिएकोमा मंगलबार सरकारी वकिल कार्यालयमा वयान लिएपछि उनीहरुलाई धरौटीमा छाड्ने व्यापक आशंकाबिच प्रमुख जिल्ला अधिकारीले साधारण तारेखमा छाडेका हुन्।

साधारण तारेखमा छुटेपछि जिप्रका काठमाडौंको परिसरमा थोरै समर्थक र केही पत्रकार बिच मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ‘अन्यायपूर्वक नाकाबन्दी गरेर नेपाल र नेपालीलाई ध्वस्त र नष्ट पार्न चाहने भारतीय नोकरशाहीका प्रतिनिधि प्रणव मुखर्जीलाई कालो झण्डा देखाइएको हो,’ भन्दै आफूहरुलाई पक्राउ गरेर गणतान्त्रिक सरकारले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकारमाथि अंकुश लगाई भारतलाई खुसी पार्न खोजेको आरोप लगाए।

उनले अब ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको ध्यान प्रस्तावित संविधान संशोधनका विषय सूचीमा केन्द्रित हुने बताउँदै अंगीकृत नागरिकले राष्ट्रपति हुन पाउने र सरकारी कामकाजको भाषाको सूचीमा हिन्दी भाषालाई समावेश गर्ने कुराको विरोधमा छिट्टै संघर्षका कार्यक्रम घोषणा गर्ने बताए।

प्रकाशित: २३ कार्तिक २०७३ १४:३५ मंगलबार

मुखर्जीलाई झण्डा देखाउने सबै