राजनीति

‘प्रदेश सरकार पत्रकारसँगै सहयात्रा गर्न चाहन्छ’

सुदूरपश्चिम प्रदेश सरकार पत्रकारसँगै सहयात्रा गर्दै समग्र प्रदेशको विकासका निम्ति हातेमालो गर्न चाहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्। शनिबार नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश समितिको तेस्रो साधारणसभामा बोल्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन्।

मुख्यमन्त्री शाहले पत्रकार पत्रकार मात्र नभई प्रदेश सरकारको सल्लाहकार, सहयात्री र सहकर्मी भएको बताए। उनले भने, ‘सुदूरपश्चिम प्रदेशका कुना कन्दराका बारेमा प्रदेश सरकारलाई थाह नहुन सक्छ, तर पत्रकारलाई थाहा हुन्छ। त्यसैले पत्रकारसँग प्रदेश सरकार सहयात्रा गर्न चाहन्छ।’ उनले आमसञ्चार नीति र विज्ञापन नीतिका बारेमा छलफल गरेर समय सापेक्ष बनाउन छुटेका बुँदालाई समेट्ने कुरामा विश्वास दिलाउने उनले बताए।

‘हामी सुदूरपश्चिम प्रदेशको सञ्चार नीति छिटोभन्दा छिटो पारित गर्नेछाैं,’ उनले भने, ‘जसले गर्दा पत्रकारिता क्षेत्रमा सहजता हुनेछ।’ विज्ञापन दिँदा मापदण्ड के कस्तो गर्नुपर्छ भनेर सोचेर नीति बनाउनु पर्ने पनि उनले बताए।

स्थानीय तहको विज्ञापनलाई पनि त्यो पालिकाका पत्रकारलाई प्राथमिकतामा राखेर हेर्नुपर्ने र सोही अनुसार लागू गर्ने उनले बताए। उनले देश संघीयतामा गए पनि केन्द्रीकृत सोच परिवर्तन हुन नसकेको भन्ने आभाष प्रदेश सरकारलाई भइरहेको बताए। ‘संघले दिनुपर्ने अधिकार ऐन नियम दिन सकेको छैन,’ उनले भने, ‘त्यो अधिकार प्रदेश सरकारलाई दिनुपर्छ, अनिमात्र प्रदेश सरकार सहज चल्न सक्छ।’

कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले जनतालाई सुशासन दिलाउन पत्रकारले खबरदारी गरिरहेको बताउँदै भने,’ प्रदेश सरकारलाई सुशासित बनाउन मिडियाले खबरदारी गरिरहेको छ।’ आफ्नो मातहतको मन्त्रालयले पत्रकार महासंघका भवन निर्माणमा सहयोग गर्ने उनले बताए। ’महासंघका अधुरा भवन निर्माणमा हाम्रो सहयोग रहनेछ,’ उनले भने।

प्रदेश सरकारले जनतालाई ‘हाम्रो सरकार हो’ भन्ने विश्वास दिलाउन चाहेको उनले बताए। उनले भ्रष्टाचारमा शून्य शहनशीलता गराउन प्रदेश सरकार लागिरहेको र लाग्ने बताउदै भने, ‘हामी भ्रष्टाचार शून्य सहनशीलता बनाउन चाहन्छाैं, यसमा पत्रकारको अह्म भूमिका रहन्छ।’

नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको तेस्रो साधारणसभा कार्यक्रममा पत्रकार उमिद बागचन्द, डिआर पन्त र हरि जोशीलाई पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको थियो।

प्रकाशित: २१ फाल्गुन २०७९ ०१:५१ आइतबार

सुदूरपश्चिम प्रदेश सरकार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह