राजनीति

संविधान कार्यान्वयन हुन नदिन भारतको षडयन्त्र: महासचिव पोखरेल

खोटाङ-  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालको संविधान कार्यान्वयनमा छिमेकी देश भारतले षडयन्त्र गरिरहेको बताएका छन्। नेकपा एमाले खोटाङले आईतबार सुरु गरेको संविधान कार्यान्वयनकालागि जनपरिचालन अभियान कार्यक्रम उद्‍घाटन गर्दै महासचिव पोखरेलले सुरुमा संविधान जारी गर्न नदिन चलखेल गरेको भारत हाल कार्यान्वयन गर्न नदिन मरिमेटेर लागीपरेको आरोप लगाए।

नयाँ संविधान कार्यान्वयन हुन नदिन र अस्थिरता सिर्जना गर्न भारतले नेपालका पार्टीबीच फुट ल्याउने हरेक उपाय अपनाइरहेको पोखरेलको भनाई थियो। नेपालका पार्टीलाई छेउ लगाएर सँधै अबिश्वास, अशान्ती, अन्धकार, कुण्ठा, निरासा र कलहमा देशलाई जाकेर आफ्नो प्रभुत्व जमाइराख्न भारत सक्दो खेल खेरिहेको महासचिव पोखरेलको भनाई थियो। सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले नेपालका पार्टीलाई पाखा लगाएर संबिधानलाई मरितुल्या बनाउँदै अर्को ‘खिलराज’ जन्माउने कसरतमा भारत रहेको दाबी गरे। ‘नेपालमा संविधान जारी नहोस् भन्ने भारतको चाहना थियो, हामीले उसको कुरा नसुनी जारी गर्‍यौं यसले उसको पेट पोलेको छ,’ महासचिव पोखरेलले भने, ‘अव मेरो कुरा नसुन्ने, कसरी लागू गर्दारहेछौँ, हेरौँला भनेर इख साँचेर बसिरहेको छ।’

महासचिव पोखरेलले पार्टीबीचको एकतालाई फुटाएर संविधान कार्यान्वयन प्रकृयालाई असफल बनाउने षडयन्त्र पूरा गर्नकालागि भारतले नेपालका दलभित्र आफुले भनेको ‘पत्याउने र मान्ने मान्छे’ खोजीरहेको बताए । भारतको इसारामा चल्ने केही खेताला कांग्रेस र माओबादी भित्र रहेको दाबी गर्दै पोखरेलले एमालेभित्रकै नेतालाई पनि भारतले फेसो हाल्नेतर्फ सावधानी अपनाउनुपर्नेमा जोड दिए । ‘संबिधान कार्यान्वयन नभए, चुनाव हुँदैन, चुनाव नभए संबिधान र दल नै निष्प्रभावी बन्छ, भारत यही चाहन्छ,’ महासचिव पोखरेलले भने, ‘आफ्नो यही उद्धेश्य पूरा गर्न भारतले आफुले भनेको मान्ने खेताला खोजिरहेको छ ।’ सुगौली सन्धीदेखि नै नेपालको शिर झुकेकाले भारतले हेप्दैआएको उनले बताए । कार्यक्रममा सिलसिलामा एमाले सचिव भीम आचार्य, पूर्वसञ्चारमन्त्री शेरधन राई दिक्तेल आएका छन्।

प्रकाशित: २१ कार्तिक २०७३ १३:४७ आइतबार

संविधान कार्यान्वयन हुन नदिन भारतको षडयन्त्र महासचिव पोखरेल