राजनीति

राष्ट्रियता र स्वाधीनताका पक्षधर घेराबन्दीमा छन्: विश्वकर्मा

कृषि विकास बैंक, कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको ११ औं प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य तथा पूर्व मन्त्री जगतबहादुर विश्वकर्मा। तस्बिरः सन्देश/नागरिक

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अहिले राष्ट्रियता र स्वाधीनताका पक्षधरहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले घेराबन्दी गरिरहेको आरोप लगाएका छन्।

कृषि विकास बैङ्क, कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको ११ औँ प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै विश्वकर्माले भने, ‘एमालेविरुद्ध राष्ट्रिय, अन्तर्राष्ट्रिय षडयन्त्रहरू भइरहेका छन्। घेराबन्दी गरिरहेका छन्।’ उनले अहिले देश निर्माणमा जुटेको एमाले र कर्मचारीले असुरक्षित महसुस गरिरहेको बताए। तर कस्तो खालको असुरक्षा महसुस गरिरहेका छन् भन्ने बारेमा भने उनले केहि पनि खुलाएनन्।

पूर्व मन्त्रीसमेत रहेका विश्वकर्माले नेकपा एमालेले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न पार्टी निकट कर्मचारीहरूलाई निर्देशन दिए। सुशासन, विकास र समृद्धिको अभिभारा तपाईँ हामी एकजुट भयौँ भने मात्र सम्भव छ,उनले भने,‘तर सुशासन, विकास र समृद्धिको बाधकका रूपमा भ्रष्टाचार र अस्थिरता आएको छ। यसको अन्त्यका लागि तपाईँ कर्मचारीहरुलेपनि भूमिका खेल्नुपर्छ।’

विश्वकर्माले कर्मचारी सङ्गठनका नेताहरूलाई आफ्नो व्यक्तिगत फाइदा भन्दा सङ्गठन र पार्टीको हितका बारेमा सोच्न आग्रह गरे। ‘सङ्गठनको नेताले व्यक्तिगत फाइदा, नाफा वा लाभ हेर्ने होइन। सङ्गठन र पार्टीको लक्ष्य, उद्देश्य अनुसार सिङ्गो देशको, जनताको भाग्य र भविष्य कोर्न भूमिका खेल्नुपर्छ’–उनले भने। कार्यक्रममा बोल्दै पेसागत महासङ्घ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र रिमालले कर्मचारीहरूलाई पेसागत मर्यादा कायम राख्दै काममा व्यवसायीकता देखाउन आग्रह गरे।

कृषि विकास बैङ्क गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रकाश कँडेलले कर्मचारीको सहयोगमा नै बैङ्क सफल हुने भएकाले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए। त्यसका लागि आफू र आफ्नो टिमले सधैँ सकारात्मकताका साथ काम गरिरहेको बताए। कृषि विकास बैङ्क कर्मचारी सङ्घका केन्द्रीय सल्लाहकार महेश पौडेलले कर्मचारीको हक, हितसँगै बैङ्कलाई अब्बल बनाएर सेवाग्राहीलाई सेवा गर्नु नै सङ्गठनको उद्देश्य रहेको प्रस्ट्याए। 

प्रकाशित: २० फाल्गुन २०७९ १३:०५ शनिबार

जगतबहादुर विश्वकर्मा नेकपा एमाले