राजनीति

गोर्खा सैनिकले असाधारण क्षमता देखाएका छन् : मुखर्जी

भारतीय राष्ट्रपति मुखर्जी पोखरामा

पोखरा— पोखरा भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल शान्ति र विकासको मार्गमा अघि बढीरहेको बताएका छन् । नेपालका यो यात्रामा भारतले सधैं साथ दिने उनले बताए।

‘पछिल्लो २ सय वर्षदेखि गोरखा सैनिकले भारतमा विरताका साथ सेवा गरिररहेका छन् । जुन हाम्रो लागि गौरवको कुरा हो,’ उनले भने, ‘गोरखा सैनिकले भारतीय सेनामा असाधारण बीरता देखाएका छन् ।’

‘नेपाल शान्ति र विकासको मार्गमा अघि बढीरहेको छ । नेपालको यो यात्राको साथमा हामी छौं,’ शुक्रबार पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा पूर्व भारतीय गोरखा सैनिक र उनीहरुका परिवारलाई सम्बोधन गर्दै मुखर्जीले भने, ‘तपाइँहरू सबै राष्ट निर्माणमा लाग्नुस्। त्यसमा हामी पनि साथ दिन्छौं ।’ उनले नेपाल र भारतबीचको सम्बन्ध अझै मजबुत बनाउनका लागि सकारात्मक भूमिका निभाउन पनि आग्रह गरे।

दशमिनेट लामो लिखित मन्तव्य दिँदै राष्ट्रपति मुखर्जीले प्राचीन कालदेखि नै नेपाल र भारतको बीच घनिष्ठ र बहुमुखी सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताए । खुला सिमाना र मैत्री सन्धिका कारण दुवै मुलुकका नागरिक एक अर्का देशमा सहजै आवतजावत गर्न सकेको उनले बताए। ‘नेपाली नागारिक भारतमा बसेर सानदार व्यवसाय गर्न सकेका छन्। दुई देशका नागरिकको यही सम्बन्ध अरु उचाइमा लैजानुपर्छ,’उनले भने, ‘नागरिकको जस्तै सम्बन्ध हाम्रा दुई प्रकारका सेना (भारतीय र गोरखाली) बीच पनि बलियो रहेको छ।’

भूतपूर्व भारतीय गोरखा सैनिकको योगदानको कदर गर्दै उनले गोर्खा सैनिकले भारतीय सेनामा असाधारण वीरता तथा कर्तव्य निष्ठाका साथ सेवा गरेर अत्यधिक नाम कमाएको बताए । ‘पछिल्लो २ सय वर्षदेखि गोरखा सैनिकले भारतमा वीरताका साथ सेवा गरिररहेका छन्। जुन हाम्रो लागि गौरवको कुरा हो,’ उनले भने, ‘गोरखा सैनिकले भारतीय सेनामा असाधारण बीरता देखाएका छन्।’

प्रकाशित: १९ कार्तिक २०७३ १३:१२ शुक्रबार

गोर्खा सैनिकले असाधारण क्षमता देखाएका छन् मुखर्जी