राजनीति

भारतीय राष्ट्रपतिको आगमन पोखराका लागि महत्वपूर्ण अवसर

वासुदेव पौडेल

पोखरा- अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ।

विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यका रुपमा आफ्नो पहिचान स्थापित गरेको पोखरा पछिल्ला समयमा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण व्यक्तिको भ्रमणको स्थल समेत बन्नुले यसको गरिमा र महत्व अझै बढाएको छ ।

भारतीय राष्ट्रपतिको शुक्रबार हुन लागेको पर्यटकीय नगरी पोखराको भ्रमणले यो विदेशी राष्ट्रप्रमुखको भ्रमणको प्राथमिकतामा पनि परेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले बताए। “राष्ट्रपति मुखर्जीको भ्रमणले पोखराको गरिमा र महत्वलाई थप उचाइमा पु¥याएको छ,” उनले भने, “नेपाल भ्रमणको कार्यक्रममा पोखरा पनि पर्नु यहाँका लागि महत्वपूर्ण अवसर हो ।” राष्ट्रपतिको पोखरा भ्रमणलाई भव्य बनाउनका लागि सम्पूर्ण तयारी गरिएको उनले जानकारी दिए।

पर्यटकीय नगरी पोखरामा भारतीय राष्ट्रपतिको आगमन यहाँको पर्यटकीय विकासका लागि पनि महत्वपूर्ण अवसर भएको पर्यटन सम्बद्ध व्यक्तिको धारणा छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा पोखरा आगमन हुने विषयले स्वभावतः अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि स्थान पाउने बताए।

“राष्ट्रपतिको आगमनसँगै पोखरा अति विशिष्ट दर्जाका व्यक्तिको भ्रमण स्थलसमेत हो भन्ने कुरालाई चरितार्थ गर्दछ,” थापाले भने, “यस भ्रमणसँगै पोखराले विश्वका विशिष्ट पाहुनालाई समेत आकर्षित गर्नुका साथै पोखरा पर्यटनको सुरक्षित गन्तव्य भएको कुरालाई स्वतःस्फूर्त रुपमा अन्तराष्ट्रिय रुपमा स्थापित गराउनेछ ।”

सांस्कृतिक, भौगोलिक लगायतका विविध कारणले युगौँदेखि मित्रवत् सम्बन्ध रहेको मित्रराष्ट्र भारतका राष्ट्रपतिको नेपाल भ्रमण आफैँमा महत्वपूर्ण उपलब्धि भएको बताउने पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष भरतराज पराजुलीले उनको पोखरा भ्रमण सम्पूर्ण पर्यटन व्यवसायीका लागि सुखद् पक्ष भएको बताए।

भूकम्पपछिको पर्यटनमा भारतीय पर्यटकको कम आगमन भएको अवस्थामा पर्यटकीय नगरी पोखरामा पनि उनको भ्रमणको कार्यक्रम रहनुले भारतीय पर्यटक थप आकर्षित गर्न महत्वपूर्ण सहयोग पुग्ने पराजुलीले बताए। अत्यन्त अनुकूल मौसमको समयमा हुन लागेको भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको कार्यक्रमले विश्वका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यानसमेत आकर्षित गर्ने बताउँदै उनले भ्रमणसँगै अन्तर्राष्ट्रियस्तरमा यहाँको पर्यटन प्रवद्र्धनमा पनि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

भ्रमणले पोखराको गरिमा र महत्वलाई थप उचाइमा पुर्याउने पोखराका वरिष्ठ समाजसेवी एवम् उद्यमी गणेशबहादुर श्रेष्ठले बताए। “पोखरेली जनता भारतीय राष्ट्रपतिको न्यानो स्वागतको अन्तिम तयारीमा छन्,” स्वागत व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका श्रेष्ठले भने, “पोखरामा उनलाई यहाँका धार्मिकस्थलको अवलोकन गराउन र नागरिक अभिनन्दनसमेत गर्न पाएको भए अझै राम्रो हुने थियो ।”

अन्तर्राष्ट्रियस्तरका अति विशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउनु समग्र पोखरावासीका लागि महत्वपूर्ण उपलब्धि एवम् अवसर भएको उनको भनाइ छ । रासस

प्रकाशित: १८ कार्तिक २०७३ ०४:२० बिहीबार

भारतीय राष्ट्रपतिको आगमन पोखराका लागि अवसर