राजनीति

संसदको प्रमुख प्रतिपक्षीमा काँग्रेस र एमाले दुवैको दाबी

संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दलमा आफूलाई दाबी गरेका छन्।  

प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको पहिलो दल नेपाली काँग्रेस र दोस्रो दल नेकपा (एमाले) ले विश्वासको मत दिएका थिए। सरकारलाई विश्वासको मत दिएपनि आफू सरकारमा सहभागि नभएको भन्दै नेपाली काँग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो।

राष्ट्रपतिको उम्मेदवारको विषयमा तत्कालिन सत्तारुढ गठबन्धन विभाजित भएपछि गत सोमबार नेकपा(एमाले)ले सरकार छोडेको थियो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो। यससँगै नेकपा(एमाले)ले आफूहरु प्रमुख प्रतिपक्ष भएको दाबी गरेको छ। कुन–कुन दल सत्तापक्ष र कुन–कुन दल प्रतिपक्ष हुन् भन्ने यकिन नभइसकेकाले बुधवारका लागि तय भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गतेसम्मका लागि स्थगित भएको छ। काँग्रेस र एमाले भने आफूलाई प्रमुख प्रतिपक्षी भएको तर्क पेस गरिरहेका छन्।

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली काँग्रेस पार्टी प्रमुख प्रतिपक्षी दल भएको बताए। उनले प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवा रहेको पनि उल्लेख गरे। काँग्रेस सरकारमा नजाँदासम्म संसदको प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहने उनको भनाइ छ। एमाले पनि सरकारमा नरहेको अवस्था भएमा संख्यात्मक हिसावले काँग्रेस अगाडी रहेकाले काँग्रेस नै प्रमुख प्रतिपक्षी दल हुने उनले बताए।

उनले भने,‘प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस हो। प्रमुख प्रतिपक्षी दलको अथवा विपक्षी दलको नेता माननीय शेरबहादुर देउवाजी हुनुहुन्छ। यसमा कुनै आशंका, यसमा कुनै दुविधा हुनुपर्ने कुनै कुरा छैन। कुनै ठाउँ छैन। हामी सरकारमा नजाँदासम्म, हामी भोलिका दिनमा सरकारमा जाउँला, सत्ता पक्ष बनुँला, त्यो बेग्लै पाटो भो। त्यो भविष्यमा होला। तर हामी सरकारमा नजाँदासम्म हामी प्रतिनिधि सभामा विपक्षी दल हो। माननीय शेरबहादुर देउवा विपक्षी दलको नेता हो। त्यसको त प्रष्ट स्थिति छ नि त, हामी एमालेभन्दा आजका दिनमा संख्यात्मक रुपले हामी अगाडी छौँ। संख्यामा जो सबैभन्दा ठूलो दल हुन्छ त्यही विपक्षी दल हुन्छ। त्यसमा कुनै दुविधा गर्नुपर्ने कारण छैन। त्यो एमालेले पनि राम्ररी बुझेको छ । संसदले पनि राम्ररी बुझेको छ। त्यसमा कुनै दुविधा छैन।’  

यस्तै नेकपा (एमाले) का सचिव तथा सांसद छविलाल विश्वकर्माले एमाले सरकारमा नरहेको र समर्थन पनि नगरेकाले प्रमुख प्रतिपक्षी भएको बताए। उनले आफूहरुले औपचारिक रुपमै प्रमुख प्रतिपक्षी भएको दाबी गरिसकेको स्पष्ट पारे। यद्यपी को प्रमुख प्रतिपक्षी दल हो भन्ने कुरा निरुपण गर्ने काम संसद सचिवालयको भएको उनले बताए।  

उनले भने,‘हामी त प्रतिपक्षमा छौँ भनेका छौँ। निर्धारण गर्ने काम सचिवालयको हो। सत्तापक्षमा हुनका लागि जोड गर्ने भन्दापनि प्रमुख प्रतिपक्ष हुनका लागि जोड गर्ने जस्तो देखियो। नेपाली काँग्रेसले प्रतिपक्ष नै हौँ भन्छ भने उसको कुरा रह्यो। हामी त औपचारिक रुपमा प्रतिपक्ष छदैछौँ। ऊ सत्तामा नरहेर प्रमुख प्रतिपक्ष वा प्रतिपक्ष नै हुन्छु भन्छ भनेपनि उसको कुरा हो। यसमा निरुपण गर्ने काम सचिवालयको हो। नेकपा(एमाले)मा कुनै दुविधा नै छैन। हामीले प्रष्ट पारि नै सकेका छौँ। हामी सत्तामा छैनौँ। सत्तापक्ष होइनौँ। नेकपा(एमाले) अहिले प्रतिपक्ष हो। प्रमुख प्रतिपक्ष खासमा नेकपा(एमाले) हो। औपचारिक रुपमा हामीले यो भनि नै सकेका छौँ। एमाले यो सन्दर्भमा दुविधामा छैन।’

प्रकाशित: १७ फाल्गुन २०७९ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App