राजनीति

कांग्रेसमा वरियता विवादः ५ नेताले गरेनन् माइन्युटमा हस्ताक्षर

काठमाडौं– नेपाली कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकमा पनि वरियताक्रम विवाद सुल्झन सकेन । १३औं महाधिवेशनपछि वरियता विवाद हुँदा पाँच केन्द्रीय सदस्यले बैठकमा उपस्थित भए पनि निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छैनन् ।

पार्टीमा आफ्नो वरिताक्रममाथि हुनुपर्ने जनाउँदै हस्ताक्षर नगर्नेमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, पूर्वसहमहामन्त्रीहरू रामशरण महत, अर्जुननरसिंह केसी  र रमेश लेखक छन् ।

बैठकमा उपस्थित भए पनि वरियता विवादका कारण गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, रामशरण महत, अर्जुननरसिंह केसी  र रमेश लेखकले निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छैनन्  

१३औं महाधिवेशन सम्पन्न भएपछि झन्डै आधा दर्जनपटक केन्द्रीय समिति बैठक बसेको छ ।  श्रेष्ठले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि पार्टीमा आफू सबैभन्दा वरिष्ठ भए पनि दसौं क्रममा राखिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । पार्टीमा आफ्नो मानर्मदन भएको जनाउँदै श्रेष्ठले सार्वजनिक कार्यक्रममै गुनासो गर्दै आएका छन् ।
श्रेष्ठभन्दा अघिल्लो वरियताक्रममा पूर्व महामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला छन् । त्यस्तै, पूर्वमहामन्त्री गुरुङ पार्टीको वरियताक्रममा श्रेष्ठ पछि छन् ।

पार्टीका पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्काभन्दा पछि वरियता परेपछि महत र केसीले निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छैनन् । नुवाकोट गृह जिल्ला भएका यी दुई नेताबीच नै वरियताक्रमको विवाद बेलाबेलामा हुने गरेको छ । महतभन्दा आफू वरिष्ठ भएको केसीको दाबी छ । केसीभन्दा पहिला महत पार्टी सहमहामन्त्री भएकाले वरियतामा उनी अघि छन् । पार्टीका कार्यक्रममा पनि महतपछि बोल्ने पालो आउने हुँदा केसीले व्यस्तता देखाउँदै पहिला नै बोलेर हिंड्ने गरेका छन् । महत १६ औं र केसी १७ औं वरियताक्रममा छन् भने खड्का १५ औं वरियतामा छन् ।

त्यस्तै, भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य लेखक ७० औं स्थानमा छन् । भ्रातृ संगठनका
पूर्वअध्यक्षहरूभन्दा पछिको वरियतामा राखेपछि लेखकले पनि निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छैनन् । लेखक दुई कांग्रेस पार्टी एकीकरण हुँदा केन्द्रीय सदस्य थिए ।

महाधिवेशनबाट गत फागुन २५ शेरबहादुर देउवा सभापति निर्वाचित भएपछि पौडेल दोस्रो वरियतामा छन् । पौडेलपछि उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र त्यसपछि पूर्व महामन्त्रीहरू वरियताक्रममा छन् । दस केन्द्रीय सदस्य मनोनित गर्न बाँकी रहेको कांग्रेस केन्द्रीय समिति हाल ७५ सदस्सीय छ ।

पहिला पनि विवाद

वरियताक्रमलाई लिएर कांग्रेसमा यसअघि पनि विवाद हुने गरेको थियो । १२औं महाधिवेशनपछि नेता मीनेन्द्र रिजाल र प्रकाशशरण महतबीच वरियता विवाद भएको थियो । विवादका कारण दुबै नेताले १२औं महाधिवेशनपछि लामो समयसम्म पार्टीको निर्णय पुस्तिकामा हस्ताक्षर गरेका थिएनन् । त्यस्तै, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीबीच पनि विवाद भएको थियो । नेताद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच वरियता विवाद भएपछि तत्कालीन प्रजातान्त्रिक कांग्रेका सभापति देउवाले सिंहलाई उपसभापति बनाएको एक नेताले सुनाए ।

कांग्रेसमा राम्रो काम गर्नेभन्दा पहिला नाम कसको पर्ने भन्ने विवाद केन्द्रदेखि गाउँसम्म तीव्र रहेको सुनाउँदै एक पुराना नेताले भने, ‘वरिष्ठता तोक्न आयोग नै बनाउनुपर्ने अवस्था छ ।’

प्रकाशित: १३ कार्तिक २०७३ १४:३३ शनिबार

कांग्रेसमा वरियता विवादः नेताले गरेनन् माइन्युटमा हस्ताक्षर