राजनीति

यस्ताे छ, राष्ट्रपति मुखर्जीको ३ दिने नेपाल भ्रमण कार्यक्रम

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्ने भएका छन्।

राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षीलाई स्वागत गर्ने भएकी छन्। भारतीय राष्ट्रपतिले राष्ट्रपति भण्डारीलाई शीतलनिवासमा भेटवार्ता गर्ने र उनको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रायले जनाएको छ ।

त्यसैगरी राष्ट्रपति मुखर्जी नेपालका लागि भारतीय राजदूत रणजीत रायले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेकाे भ्रमण कार्यक्रमअनुसार भारतका राष्ट्रपतिले कात्तिक १८ गते पशुपतिनाथको पूजाअर्चना गर्ने र सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ। भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालामा सम्भाषण दिनेछन्।

राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उहाँसँग शिष्टाचार भेट गर्ने छन्। भारतका राष्ट्रपतिले कात्तिक १९ गते जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने तथा उनको सम्मानमा नागरिक स्वागत आयोजना हुनेछ । सोही दिन राष्ट्रपति मुखर्जी पोखराको भ्रमणमा पनि जाने छन्। भारतका राष्ट्रपतिबाट १८ वर्षपछि नेपालको भ्रमण हुन लागेको हो । यसअघि भारतका राष्ट्रपति के आर नारायणन नेपालको भ्रमणमा आएका थिए।

राष्ट्रपति मुखर्जी कात्तिक १९ गते काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। रासस

प्रकाशित: १३ कार्तिक २०७३ १२:५२ शनिबार

यस्ताे राष्ट्रपति मुखर्जीको दिने नेपाल भ्रमण कार्यक्रम