राजनीति

प्रधानमन्त्री दाहालद्वारा माछा खोला जलविद्युत आयोजनाको उद्घाटन

माथिल्लो माछा खोला जलविद्युत आयोजनाको उद्घाटन प्रधानमन्त्री, प्रतिनिधि सभा सदस्य लगायत।

प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखाको धार्चे गाउँपालिका ४ मा निर्माण भएको माथिल्लो माछा खोला जलविद्युत आयोजनाको उद्घाटन गरेका छन्। बिकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित चार दशमलव ५५ मेघावाटको उक्त आयोजना सोमबार प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री दाहालले भर्चुअल रुपमा उद्घाटन गरेका हुन्। 

 यो हाइड्रोको उद्घाटनले गोरखामा विकासको सुरुवातको संकेत गरेको बताउँदै उनले स्थानीयलाई रोजगारीको अवसर सिर्जना गराएको प्रति कम्पनीलाई धन्यवाद दिए। उनले हाइड्रो निर्माणमा सहभागी गैर आवासीय नेपालीहरु, स्थानीय लगानीकर्ताको योगदानका लागि विशेष धन्यवाद दिँदै एनआरएनएहरुलाई थप लगानी गर्न अनुरोध गरे।  प्रधानमन्त्री दाहालले एक सय ३२ केभिएको ट्रान्समिसन लाइन धार्चे गाउँपालिकाको केन्द्र माछा खोलामा निर्माणको लागी सरकारले तत्काल काम सुरु गर्ने समेत प्रतिबद्धता जनाए। उनले सरकारको अबको लक्ष्य सुशासन र विकास नै रहेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे 

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि चुनाव सकिने र त्यसपछिको पाँच वर्ष देशमा बिकास निर्माणको काममा लाग्ने बताए। 

कार्यक्रममा गोर्खा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईले गोरखाको विविध समस्याको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउँदै एक सय ३२ केभिएको ट्रान्समिसन लाइन धार्चे गाउँपालिका माछा खोलामा निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए। बजगाईले गोरखामा बुढी गण्डकी सँगै अन्य धेरै हाईड्रोकोसम्भावना रहेको बताउँदै विकास हाइड्रोका लगानीकर्तालाई थप लगानीकालागि अनुरोध गरे। 

गोरखा जिल्लाको दुर्गम गाउँमा बनेको हाइड्रोमा गैर आवासीय नेपालीहरूको ठुलो लगानी रहेको एनआरएनए आइसिसीका सचिव एवं बिकास हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानेले बताए। 

यस कम्पनीको नेतृत्व गैर आवासीय नेपाली संघका वर्तमान सचिव खगेन्द्र न्यौपानेले गरेका छन् भने सञ्चालक समितिको प्रबन्ध निर्देशकमा कृष्ण प्रसाद घिमिरे,निर्देशकमा सरोज धिताल, जोन घले, इन्द्र बहादुर ढकाल, सुनिल श्रेष्ठ लगायतका युवा ब्यवसायिहरु रहेका छन्। उक्त हाइड्रो सम्पन्न गरे लगत्तै अर्को हाइड्रो पनि निर्माण सुरु गरिने संचालकहरुले घोषणा गरेका छन्। 

करिब १ अर्ब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी र राष्ट्रिय वाणिज्य बैंकको ६५ प्रतिशत ऋण लगानी रहेको छ। यस आयोजनाले नेपाल बिद्युत प्राधिकरण सँग बिद्युत खरिद बिक्री सम्झौता अनुसार २०८० साल आषाढ ३० गते बिद्युत उत्पादन सम्पन्न गर्ने लक्ष्य रहेपनी सो मिति भन्दा ६ महिना अघि उत्पादन सुरु गरेको जनाएको छ। 

प्रकाशित: १५ फाल्गुन २०७९ १३:२६ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल