राजनीति

नेतामाथि पनि छानबिन गर्न माग

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्त गर्नुपर्नाका कारण शीर्ष नेताहरूले सार्वजनिक गर्नुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा भण्डारीले भने, 'हिजो लोकमानलाई कसैको दबाबमा वा पैसाको प्रलोभनमा हो कि, अथवा विकल्प नभएर प्रमुख आयुक्त बनाइएको हो? नेताहरूले जबाफ दिनुपर्छ। यो दल वा त्यो दल भन्ने कुरा होइन, राष्ट्रका अगाडि पार्टी ठूलो कुरा होइन।'

उनले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्न सिफारिस गर्ने नेताहरूमाथि पनि छानबिन हुनुपर्ने माग गरे। भण्डारीले कार्कीविरुद्ध महाभियोग प्रस्ताव राम्रै उद्देश्यले आए पनि यसको तरिका ठीक नभएको टिप्पणी गरे। 'महाभियोग प्रस्ताव भनेको सक्रिय जीवनको अन्त्य हो, मृत्यु हो', उनले भने, 'मौकामा चौका हान्ने काम भयो, त्यसैले हामी (कांग्रेस) हतारमा निर्णय गर्दैनौं।'

कार्कीको कार्यशैली चित्तबुझ्दो नभएको बताउँदै भण्डारीले भने, 'लोकमानजीले पोखरा विश्वविद्यालयका उपकुलपति खगेन्द्र भट्टराईलाई कारबाही गर्नुभयो, जब कि उहाँले भ्रष्टाचार त परै जाओस्, कसैको एक कप चिया पनि पिउनुभएको थिएन। गोविन्द केसीजस्तो डाक्टरलाई पागलको संज्ञा दिएर विज्ञप्ति निकाल्नुभयो, उहाँका यी काम चित्तबुझ्दा छैनन्।'

नेकपा एमालेका सचिव योगेश भट्टराईले कार्कीविरुद्ध महाभियोगको प्रस्ताव आउनु स्वागतयोग्य भएको टिप्पणी गर्दै कांग्रेससहितका दलले प्रस्ताव पारित गर्न सहयोग गर्नुपर्ने बताए। संसदीय सर्वोच्चर्ता स्थापित गर्न यो प्रस्ताव महŒवपूर्ण कदम भएको दाबी गर्दै उनले भने, 'यो सही कदम हो, त्यसैले सबै दल एक ठाउँमा उभिनुपर्छ।'

भट्टराईले संविधान जारी भएलगत्तै प्रमुख दलहरूले सहमतिको लिक छोडेको भए पनि लोकमान प्रकरणले प्रमुख दलहरूलाई एक ठाउँमा उभ्याउने विश्वास व्यक्त गरे। भट्टराईले भने,'लोकमान प्रकरणलाई हामीले सही अवसरको रुपमा लिनुपर्छ।'

नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले अख्तियार प्रमुखको कार्यसम्पादनमै प्रश्न उठेकाले महाभियोगको प्रस्ताव ल्याएको दाबी गरे। प्रस्ताव सदनमा प्रस्तुत भइसकेकाले पारित गर्न दलीय सहमति बन्ने विश्वास गुरुङले व्यक्त गरे।

मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले ठूला पार्टीले नै लोकमानलाई अख्तियार प्रमुख बनाएको र अहिले आएर उनीहरूले नै हटाउन नाटक गरेको आरोप लगाए। 'हिजो सुनुवाइ समिति गठन गर्दा पनि हामीलाई सोधिएन, आज महाभियोग सिफारिस समिति गठन गर्दा हामीलाई पत्याइएन', उनले भने, 'न हामीले बनायौं, न हामी हटाउँछौं वा लखेट्छौं।'

प्रकाशित: ११ कार्तिक २०७३ ०२:१६ बिहीबार

नेतामाथि छानबिन गर्न माग