राजनीति

राष्ट्रपतिमा आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेल विजयी हुनुहुन्छ : अध्यक्ष नेपाल

फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलनै देशको राष्ट्रपति बन्ने बताएका छन्। उनले राष्ट्रपतिका विषयमा आठ दलमा कुनै समस्या नरहेको बताए।

‘आठ दलबीच छलफल गरेरै गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाएका हौं,’ सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘आठ दलीय गठबन्धनबीच कुनै समस्या छैन्, हामीले अगाडि सारेका उम्मेदवार पौडेलनै राष्ट्रपतिमा निर्वाचित हुनुहुन्छ।’

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक वार्ता र संवाद भएपनि पार्टी एक बनाउने विषयमा कुनै निर्णयमा पुग्न नसकेको बताए। ‘नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकीकरण गरेर नेकपाकालिन अवस्थामा पुगौं भन्ने हाम्रो प्रस्ताव रह्यो,’ उनले भने, ‘हामीले संभावनाको खोजीको प्रयास गरेका थियौं, तर सफल भएनौं।’ उनले तीन पार्टी मिलाएर २०७५ जेठ ३ को विन्दूमा पुग्ने अवस्थामा मात्रै एकताले सार्थकता पाउने बताए।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले परिवर्तनका पक्षधरहरु फेरि एक पटक एक ठाउँमा आएको बताउँदै अहिलेको गठबन्धन आगामी चुनावसम्म जाने बताए।  ‘संविधानको रक्षा र गणतन्त्रको रक्षाका लागि अहिलेको गठबन्धन बनेको हो,’ उनले भने, ‘यो गठबन्धन आगामी निर्वाचनसम्म जान्छ।’

उनले एमालेसहितको गठबन्धन परिवर्तन विरोधी र संविधान विरोधी भएको बताए। ‘त्यहाँ कोही राजा ल्याउने भन्छन्, कोही संघीयता चाहिएन् भन्छन्,’ उनले भने, ‘त्यसैले छोटो समयमै नयाँ गठबन्धन बन्न पुगेको हो।’

प्रकाशित: १५ फाल्गुन २०७९ ०७:२७ सोमबार

नेकपा एकीकृत समाजवादी माधवकुमार नेपाल