राजनीति

खोटाङमा दश वटा स्थानीय तह बनाउन सिफारिस

खोटाङ–खोटाङमा १० वटा स्थानीय तह बनाउने टुंगो लगाइएको छ। स्थानीय तह पुर्नसंरचना प्राबिधिक सहयोग समितिको संयोजनमा राजनैतिक दलका प्रमुख सम्मिलित बैठकले दुई दिन लगाएर दुई नगरपालिका र आठ गाउँपालिका बनाउने टुंगो लगाएको हो।

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले प्रस्ताव गरेको अधिकतम संख्याकै आधारमा दलहरुले जिल्लाको स्थानीय तह बनाउन सहमति जुटाएका स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताए।
जिल्लामा एक बिशेष क्षेत्र, दुई स्वयत्त क्षेत्र र चार संरक्षित क्षेत्र रहनेगरी गाउँपालिका र नगरपालिकाको सीमाना तथा केन्द्र निर्धारण गरेर आयोग समक्ष पठाइएको छ।  जिल्लाका दलहरुबीच स्थानीय तहको साझा खाका बनाउने विषयमा सहमति जुट्न नसकेपछि गत भदौ–२६ गते खोटाङमा स्थानीय तहको संख्या १३ वटा, १० वटा र ९ वटा बनाउन फरक–फरक किमिसका खाका तयार पारेर आयोग समक्ष सिफारिस गरिएको थियो।

मंगलबार साँझ सम्पन्न बैठकले बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, बडहरे, दुर्छिम, मंगलटार, सल्ले, महादेबस्थान, अर्खौले, धितुङ र लामीडाँडा गाबिसलाई समेटेर दुर्छिम केन्द्र रहने हलेसी–तुवाचुङ नगरपालिका, राजापानी, बिजयखर्क, बुईपा, नुनथला, खार्पा र कुभिण्डे गाबिस समेटेर नुनथलाको महुरे केन्द्र रहने महुरेगढी गाउँपालिका, डुम्रेधारापानी, दुबेकोल, माक्पा, ज्यामिरे, महेश्वरी, जलेश्वरी, ऐसेलुखर्क, बाकाचोल र राखाबांदेल गाविसको ऐंसेलुखर्क केन्द्र रहने ऐंसेलुखर्क गाउँपालिका, सप्तेश्वर, बाक्सिला, बासपानी, खार्ताम्छा, फेदी, दिप्सुङ र सुङ्देल गाबिसको बाक्सिला केन्द्र रहने केपिलास गाउँपालिका, हौंचुर, जालपा, खार्मी, पाथेका, नेर्पा, दोर्पाचिउरीडाँडा, निर्मलीडाँडा र दिक्तेल नगरपालिकाको दिक्तेल केन्द्र रहने दिक्तेलरुपाकोट नगरपालिका बनाउन प्रस्ताव गरिएको छ ।

यस्तै, मानेभञ्ज्याङ केन्द्र रहने बाँझेच्यानडाँडा, रतन्छा, खिदिमा, मात्तिम र टेम्मा गाबिसलाई समेटेर साकेला गाउँपालिका, पञ्चमीबजार सछितापोखरी केन्द्र रहनेगरी याम्खा, डाँडागाउँ, छोरम्बु, सछितापोखरी, बतासे र छितापोखरी गाविसलाई समेटेर दिप्रुङ गाउँपालिका, लिच्कीराम्चे, सिमपानी, वाप्लुखा, लिकुवापोखरी, सावाकटहरे, बड्कादियाले र खोटाङबजार गाविस समेटेर खोटेहाङ गाउँपालिका, सिन्ताङ साउनेचौंर केन्द्र रहने बराहपोखरी, सुन्तले, साउनेचौंर, फाक्टाङ, पौवासेरा र मौवाबोटे गाविस समेटेर बाराहपोखरी गाउँपालिका तथा चिसापानी केन्द्र रहने डम्बर्खुशिवालय, चिसापानी, दिप्लुङ, काहुले, देविस्थान र बोपुङ गाबिस समेटेर जन्तेढुंगा गाउँपालिका सिफारिस गरिएको स्थानीय तह पुर्नसंरचना प्राबिधिक सहयोग समितिले जनाएको छ। यसअघि सिफारिस गरिएको खाकामा टुक्र्याइएको छितापोखरी गाविसलाई यसपल्ट भने नटुक्र्याइ दिप्रुङ गाउँपालिकामा समाबेश गर्ने निर्णय गरिएको छ।
 

चार संरक्षित क्षेत्र प्रस्ताव

बैठकले च्यास्मीटारलाई तिलुङको संरक्षित क्षेत्र, बाकाचोल र राखाबांदेललाई नाछिरिङको संरक्षित क्षेत्र, सुंदेल र दिप्सुङलाई कोयीको तथा मौवाबोटे र पौवासेरालाई पुमाको संरक्षित क्षेत्र बनाउन सिफारिस गरिएको छ। बासपानी, खार्ताम्छा, फेदी, पाथेका गाबिसलाई सामपाङ स्वयत्त क्षेत्र, खार्मी, जालपा, माक्पा, बाक्सिला र सप्तेश्वर गाबिसलाई दुमी स्वयत्त क्षेत्र तथा भौगोलिक हिसावले दुरगममा रहेका बोपुङ र देबिस्थानलाई बिशेष स्वयत्त क्षेत्र बनाउन सिफारिस गरिएको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले जनाएको छ।
खोटेहाङ गाउँपालिकाको केन्द्र खाली

खोटाङका दल दश पालिका बनाउनमा सहमतिमा पुगे पनि खोटेहाङ गाउँपालिकाको केन्द्रका विषयमा भने बिवाद देखिएको छ । दलबीच खोटेहाङ गाउँपालिकाको केन्द्रका बिषयमा सहमति जुट्न नसक्दा ‘नाम खाली’ राखेर केन्द्रका बिषयमा सबै दलको मत मात्र पठाइएको समितिले जनाएको छ । खोटेहाङ गाउँपालिकाको केन्द्र टुंगो नलाग्दा एमालेले इन्द्रेणीपोखरी, खोटाङबजार र सिमपानीमध्ये कुनै एकलाई केन्द्र बनाउन मत दिएको छ । कांग्रेसले इन्द्रेणीपोखरी, खोटाङबजार, बड्कादियाले र सिमपानीमध्ये कुनै एक केन्द्र भए मान्य हुने मत दिएको छ । यस्तै, माओबादी केन्द्र, राप्रपा, नेकपा माले, नयाँशक्तीले इन्द्रेणीपोखरी तथा खम्बुवान राष्ट्रिय मोर्चाले इन्द्रेणीपोखरी, खोटाङबजार र सिमपानीको बीचमा केन्द्र बनाइनुपर्ने सुझाव दिएको छ । केन्द्रका बिषयमा सहमति नजुटेकाले राप्रपा नेपालले जनमत संग्रहबाट केन्द्र तोक्नुपर्ने भन्दै ‘नोटअफ डिसेन्ट’ लेखेको छ ।

 

प्रकाशित: १० कार्तिक २०७३ ०६:०५ बुधबार

खोटाङमा दश वटा स्थानीय तह बनाउन सिफारिस