राजनीति

‘अख्तियारमा कार्कीको नियुक्तिले भ्रष्ट्राचारीमाथिको कारवाही भारतको हातमा पुग्यो’ (भिडियो)

संसदमा बोल्दै नेपाल मजदूर किसान पार्टीका सांसद अनुराधा थापा मगर

काठमाडौं— संसदमा सुरु भएको लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल सुरु भएको छ। छलफलमा सहभागी हुँदै नेपाल मजदूर किसान पार्टीका सांसद अनुराधा थापा मगरले अख्तियारमा कार्कीको नियुक्तिले भ्रष्ट्राचारीमाथि कारवाहीको निर्णय भारतको हातमा पुगेको उल्लेख गरिन्।

भारतीय दूतावासको भोजपछि ठूलो माछा समात्ने पत्र सेलाएको चर्चा चलेको थियो। यसले भ्रष्ट्राचारीमाथि कारवाहीको निर्णय भारतकै हातमा पुगेको देखाएको छ।

संविधान सभाको दोस्रो निर्वाचन पछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अख्तियारले ठूला माछा समात्न नसकेको गुनासो स्मरण गर्दै उनले भारतीय दूतावासमा भएको भोजपछि ठूला माछा समात्ने निर्णय अवरुद्ध भएको जनाइन्।

‘भारतीय नाकाबन्दीविरुद्ध नेपाली जनता संघर्ष गरिरहेको बेला ठूला माछा भनिएकाहरु समेतलाई भारतीय दूतावासमा दिवा भोज बोलाइएको थियो’, मिडियामा आएका रिपोर्ट उल्लेख गर्दै उनले संसदमा भनिन्, ‘सो भोजपछि ठूलो माछा समात्ने पत्र सेलाएको चर्चा चलेको थियो। यसले भ्रष्ट्राचारीमाथि कारवाहीको निर्णय भारतकै हातमा पुगेको देखाएको छ।’

अख्तियारमा कार्कीको नियुक्तिपछि नेपालमा भ्रष्ट्राचार अझ बढेको उनको भनाइ थियो। ‘ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अनुसार गत वर्ष १६७ देशमध्ये नेपाल १३० औं स्थानमा प¥यो। जब कि दुई वर्षअघि १२६ औं स्थानमा प¥यो’, उनले भनिन्।

एमाले–एमाओवादी नेतालाई अख्तियारले पत्र काट्नु र त्यही सेरोफेरोमा महाअभियोग प्रस्ताव आउनुलाई संयोग वा नियोजित के हो भनेर उनले प्रश्न गरिन्। ‘२०७३ कार्तिक ३ गते एमाले–माओवादीका १५७ सांसदहरुले अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नु र २०७२ असोज १९ गते एमाले र एमाओवादीका नेताहरुलाई पत्र काट्नु संयोग हो वा नियोजित?’ उनले भनिन्।

कार्कीलाई नियुक्ति गर्ने नेताप्रति औंला ठड्याउँदै सांसद थापाले सामाजिक सञ्जालमा एक सञ्चारकर्मीले पोष्ट गरेको स्ट्याटस सुनाइन् ः  

लोकमान चोर भए उनलाई सिफारिश गर्ने नेताहरु को हुन्?
लोकमान भारतपोषित भए उनलाई सिफारिश गर्ने नेता को हुन्?

भिडियो

प्रकाशित: ९ कार्तिक २०७३ ११:४० मंगलबार

अख्तियारमा कार्कीको नियुक्तिले भ्रष्ट्राचारीमाथिको कारवाही भारतको हातमा पुग्यो भिडियो