राजनीति

मुलुकको बिकासका निम्ती अनुशासीत राजनीति अपरिहार्य:कांग्रेस सहमहामन्त्री राठौर

नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले मुलुकको बिकासका निम्ती अनुशासीत राजनीति अपरिहार्य रहेको बताएका छन्। दाङको घोराहीमा सुरु भएको लुम्बिनी प्रदेश स्तरिय स्ववियु निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै सहमहामन्त्री राठौरले अनुशासीत राजनीति मुलुकका निम्ती आवश्यक रहेको भन्दै नेविसंघमा आवद्ध विद्यार्थीहरुलाई अनुशासनको परिधि भित्र रहेर कर्म गर्न निर्देशन दिए।  

‘अनुशासन भएन भने घर चल्दैन, अनुशासन भए राजनीति चल्दैन, राजनीति अनुशासीत नभए मुलुकको बिकास हुँदैन,’ नेविसंघ केन्द्रीय समितिको आयोजना तथा नेविसंघ दाङको व्यवस्थापनमा सुरु भएको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने ‘यसर्थ मुलुकका लागि राजनीति अनुशासीत बन्नु पर्छ, त्यो बाटोमा तपाई विद्यार्थीहरु हिँड्नु पर्छ।’ नेपाली कांग्रेसको मेरुदण्डका रुपमा रहेको नेविसंघले कांग्रेसका एजेण्डालाई जनमानसमा स्थापित गर्न नेविसंघको भूमिका महत्वपूर्ण रहने बताए। ‘कांग्रेसका एजेण्डालाई जनता सामु स्थापित गर्नका लागि नेविसंघको भूमिका अति महत्वपूर्ण रहन्छ,’ उनले भने ‘यसर्थ नेपाल विद्यार्थी संघ कांग्रेसको मेरुदण्ड हो, तपाई नेविसंघमा आवद्ध साथीहरु कांग्रेसको मेरुदण्ड हो।’

एक अर्को प्रसंगमा उनले राष्ट्रपतिको निर्वाचन पछि मुलुकले सही निकास पाउने बताए। ‘राष्ट्रपतिको निर्वाचन पछि मुलुकले सहि निकास पाउँछ,’ उनले भने ‘अहिले बनेको परिवर्तनकारी राजनीतिक समिकरणले मुलुकलाई सही निकास दिनेछ।’ साथै उनले  नेपाली कांग्रेसले २०४८ मा लिएको आर्थिक नीतिकै कारण अहिले मुलुक टिकेको समेत बताए।  

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले विद्यार्थीहरुको शैक्षिक कृयाकलाप प्रति राज्य गम्भिर बन्नु पर्ने बताए । पढाई पुरा गरिसकेर कमाउने भैसकेपछि मात्रै विद्यार्थीहरुले शूल्क तिर्न पाउने गरि राज्यले व्यवस्था गर्नु पर्ने उनको भनाई थियो। ‘विद्यार्थीहरुले शूल्क तिरेर पढ्न कतिपयलाई गाह्रो छ,’ उनले भने ‘एउटा विद्यार्थीले पढाई पुरा गरिसकेर जागिर खाएर पैसा कमाउने भैसकेपछि शूल्क तिर्ने व्यवस्था राज्यले मिलाईदिनु पर् ।’  

यस्तै नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी परिवर्तनका सम्बाहक रहेको भन्दै राष्ट्र अनुकुलको जनशक्ति तयार गर्न नेविसंघ लागि परेको बताए । ‘युवा विद्यार्थीहरु परिवर्तनका संवाहक हुन्,’ उनले भने ‘परिवर्तनकारी जनशक्ति तयार गर्नका लागि नेपाल विद्यार्थी संघ लागि परेको छ ।’ साथै उनले शैक्षिक प्रणाली सुधार गर्ने एजेण्डामा नेविसंघ सकृय भएर लागि परेको बताए।  

आईतबार देखि सुरु भएको प्रशिक्षण कार्यक्रम सोमबार सम्म चल्ने छ । प्रशिक्षण कार्यक्रममा आसन्न स्ववियु निर्वाचनका लागि गर्नु पर्ने तयारी, नेविसंघको कार्यदिशा, लक्ष लगाएतका बिषयमा प्रशिक्षण दिईने  छ । ‘सिद्धान्तका आधारमा राजनीति गरिनु पर्छ राजनीतिको अस्त्र भनेकै सिद्धान्त हो भन्ने कुरा नेविसंघका साथीहरुलाई प्रशिक्षण मार्फत सिकाउन खोजिएको हो,’ नेविसंघ स्ववियु निर्वाचन समितिको केन्द्रीय संयोजक एलिजा ढकालले भनिन् ‘यससंगै स्ववियु निर्वाचनमा उम्मेदवार हुन चाहने साथीहरुलाई चुनावी रणनीतिका बारेमा समेत प्रशिक्षित गराईने  ।’ उनका अनुसार प्रशिक्षण कार्यक्रम केहि दिन अघि सुदुर पश्चिम प्रदेशमा पनि गरिएको थियो। नेविसंघका प्रशिक्षार्थीहरुलाई कांग्रेस सहमहामन्त्री बद्री पाण्डे, नेविसंघका पूर्व उपाध्यक्ष प्रमोदहरी गुरागाईँ, नेविसंघका पूर्व सहमहामन्त्री प्रेम जोशी लगाएतले प्रशिक्षण दिने छन् । कार्यक्रममा प्रदेशका २७५ जना नेविसंघमा  आवद्ध विद्यार्थीहरु सहभागी रहेको नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेलले जानकारी दिए।  

प्रकाशित: १४ फाल्गुन २०७९ १४:१६ आइतबार