राजनीति

दुई महिनामै तीतो अनुभव गरेँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रलाई स्विकार गर्न नसक्नेहरुसँगको सहकार्यले भ्रम मात्रै पैदा गर्ने भएकाले ८ राजनीतिक दलहरुसँग सहमती गरेर अघि बढनु परेको बताएका छन्।

शनिबार महेन्द्रनारायण निधि स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधान र संघीय लोकतन्त्र गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँग सहकार्यले संशय पैदा गर्ने भन्दै उनले आफूले सरकार गठनको दुई महिनामै तीतो अनुभव गरेको बताएका हुन्।  

उनले लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गरेर अघि बढने निर्णयबाट आफू खुशी र गौरवान्वित भएको बताए। राप्रपाका मन्त्रीहरुले राजीनामा दिइसकेको भन्दै उनले एमाले करिब करिब प्रतिपक्षमा गएको बताए।

उनले नेकपा एमालेका अध्यक्ष ओलीलाई भनेको कुरा सुनाउँदै भने, ‘नेपाली काँग्रेसलाई राष्ट्रपति तपाई र मैले सहमतीमा दिऊ। सबभन्दा ठूलो पार्टीको राष्ट्रपति हुन्छ। तपाईको सभामुख भएकै छैन। राष्ट्रियसभाको अध्यक्ष पनि छन। हमी दुईटै गएर नेपाली काँग्रेसलाई राष्ट्रपति तपाईहरु लिनुहोस् भन्यो भने त एउटा नयाँ राष्ट्रिय सहमती हुन्छ भनेको थिँए। तर उहाँले मान्नु भएन।’

दाहलले भने, ‘एमाले पनि अव कतै जान सक्ने स्थिति छैन । हो प्रतिपक्षमा जान सक्नु हुन्छ उहाँहरु। करिव करिव जानु भयो। आज मात्रै म कहाँ राप्रपाका सबै मन्त्रीले राजीनामा दिनु भयो। सम्भवत: अव कानुनी हिसावले हामी एउटा नयाँ प्रक्रियातिर जानु नै पर्छ। सरकार नयाँ बन्छ। पुनर्गठन हुन्छ आदि इत्यादि। तर फेरी पनि एमालेको सभामुख त हुनुहुन्छ। उहाँहरु त्यहाँबाट फुत्केर जान सक्ने स्थिति त हुँदैन।’

प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा निर्वाचित भएपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रको हित प्रतिकूल हुने गरी कहीँ पनि सम्झौता नगर्ने विश्वास समेत व्यक्त गरे।

प्रकाशित: १३ फाल्गुन २०७९ १३:२६ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल