राजनीति

नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेमा पार्टीभित्र सहमति जुटिसकेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन।  

भाेलि  बिहान कार्य सम्पादन समितिको बैठक बसेर औपचारिक निर्णय गरीने उनले जानकारी दिए।  

कांग्रेसमा राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको नाम आएको थियो। पार्टी सभापति शेरबहादुर देउवा र अधिकांश पार्टी पदाधिकारी पौडेलको पक्षमा देखिएपछि पार्टीले उनैलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लागेको हो।

आज  साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो। बैठकमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो। यी आठ दलसँग राष्ट्रपति निर्वाचित गर्न यथेष्ट मतभार रहेको छ।  

यो निर्णयसँगै पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति बन्ने पक्का भएको छ। डा रामवरण यादव मुलुकको पहिलो र विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति बनेका थिए।

राष्ट्रपतिको निर्वाचन फागुन २५ हँुदैछ । भोलि विहान १० बजे साँझ ४ बजेसम्म राष्ट्रपतिको उम्मेदवारीकालागि निर्वाचन कार्यतालिका रहेको छ।  

प्रकाशित: १२ फाल्गुन २०७९ १६:१६ शुक्रबार