राजनीति

उपकुलपति नियुक्तिप्रति डा. केसीको आपत्ति

काठमाडौं-काठमाडौं विश्वविद्यालय (केयु)का उपकुलपति डा. रामकण्ठ मकाजूलाई पुनः सोही पदमा नियुक्ति गर्ने तयारी गरेकोप्रति त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा. गोविन्द केसीले आपत्ति जनाएका छन् ।

मकाजूको चारवर्षे कार्यकाल सकिनै लाग्दा सोही पदमा पुनः नियुक्तिको तयारी भइरहेका बेला डा. केसीले बुधबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।  
झापाको प्रस्तावित बिएनसी मेडिकल कलेजलाई सम्बन्धन दिने सर्तमा उपकुलपति पद पुनः मकाजूलाई दिन खोजेको संकेत डा. केसीले विज्ञप्तिमार्फत गरेका छन् । यसअघि केयुलाई अस्तव्यस्त बनाउन संलग्न पुरानै पदाधिकारीलाई पुनः अर्को कार्यकालका लागि नियुक्ति गर्नै नहुने डा. केसीले दाबी छ ।

संसदीय प्रक्रियामा रहेको नयाँ चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा नआउन्जेल देशमा नयाँ मेडिकल शिक्षण संस्था खोल्न नदिने राज्यको नीतिलाई छलछाम गरी केयुकै अनियमिततामा संलग्न पदाधिकारीलाई निहित स्वार्थ पूर्तिका लागि नियुक्ति गर्नु कुनै हालतमा मान्य नहुने उनले जनाएका छन् ।

राजनीतिक भागबन्डा र साँठगाँठका आधारमा नभई वरिष्ठता, स्वच्छता र कार्य दक्षताका आधारमा नयाँ पदाधिकारी नियुक्त गर्नुपर्ने केसीले माग गरेका छन् ।

प्रकाशित: ४ कार्तिक २०७३ ०४:०७ बिहीबार

उपकुलपति नियुक्तिप्रति डा. केसीको आपत्ति