राजनीति

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणका लागि उच्च सतर्कता

भारतीय राष्ट्रपति प्रणव मुखर्जी। फाइल तस्बिर

जनकपुर–भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणको क्रममा अगामी कात्तिक १९ गते जनकपुरसम्म आउने संकेत पाएपछि यहाँस्थित स्थानीय प्रशासन र सुरक्षा निकायले उच्चतम व्यवस्था मिलाउन केन्द्रित भएको छ। मुखर्जीको भ्रमण व्यवस्थापन गर्न आवश्यक तयारीकै क्रममा बुधबार स्थानीय सञ्चारकर्मीसँग बैठक बसेर प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईं, जिल्ला प्रहरी प्रमुख एसपी लालमणि आचार्य, सशस्त्र सीमा सुरक्षा बलका एसपी उत्तमराज थन्नेट, राष्ट्रिय अनुसन्धान विभागका एसपी संजय यादव र स्थानीय विकास अधिकारी सन्तबहादुर सुनारलगायतको टोलीले छलफल गरेको छ।

जिल्ला प्रशासन कार्यालय परिसरमा अवस्थित अधिकृत संगमको सभाहलमा बसेको बैठकमा प्रजिअ चापागाईंले जिल्लाको सुरक्षा व्यवस्था र भारतीय राष्ट्रपतिको सम्भावित जनकपुर भ्रमणको तयारी बारे जानकारी गराएका थिए। ‘अहिलेसम्म उहाँ (मुखर्जी) को जनकपुर भ्रमणवारे औपचारिक पत्र आइसकेको छैन। तर, यहाँ आउने ९० प्रतिशतभन्दा बढी सम्भावना देखिएकोले सोही अनुसारको तयारीमा हामी जुटेका छौं’, प्रमुख जिल्ला अधिकारी चापागाईंले भने।

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर आएपछि उनलाई नागरिक अभिनन्दन गर्न जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पूण्यप्रसाद लुइँटेलको संयोजकत्वमा सर्वपक्षीय नागरिक अभिनन्दन समिति गठन

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर आएपछि उनलाई नागरिक अभिनन्दन गर्न जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पूण्यप्रसाद लुइँटेलको संयोजकत्वमा सर्वपक्षीय नागरिक अभिनन्दन समिति गठन गर्न पनि स्थानीय राजनीतिक दलहरुसँग समहमति भइसकेको प्रजिअ चापागाईंले जनाए।
‘मिथिलाको पौराणिक महत्व र पहिचानलाई कायम राख्दै महामहिम भारतीय राष्ट्रपतिज्यूलाई नागरिकको तर्फबाट अभिनन्दनगरी यस भूमिको सँस्कृतिलाई चिनाउनेगरी हाम्रो प्रस्तूति हुन्छ’, प्रजिअ चापागाईंले भने, ‘यसका लागि सम्पूर्ण जनकपुरवासीले त्यो दिन आ–आफ्नो घर अगाडी कलश र नेपाल तथा भारतको झण्डा राखेर भव्य स्वागत गर्ने हाम्रो तयारी छ।’

मुखर्जीको नेपाल भ्रमण क्रममा जनकपुरसम्म आउने सम्भावना करिब ९९ प्रतिशत देखिएको दाबी गर्दै सुरक्षा निकायका एक अधिकारीले उनको सुरक्षा व्यवस्थाको पनि अन्तिम तयारी भइरहेको बताए। ‘मुखर्जीको सुरक्षार्थ पहिलो घेरामा भारतीय सुरक्षाकर्मीकै टोली सिभिल पोशाकमा खटिएको हुन्छ भने त्यसपछिको सुरक्षा घेरामा क्रमशः नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिनेछ’, जिल्लास्थित एक सुरक्षा अधिकारीले भने। भारतीय राष्ट्रपति मुखर्जी जनकपुर आएपछि हुलाकी राजमार्गको शिलान्यास गर्ने कार्यक्रम करिब तय भइसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी चापागाईंले जानकी मन्दिरमा पूजापाठ र मन्दिरकै परिसरमा नागरिक अभिनन्दन गरिने कार्यक्रम राखिने तयारी भइरहेको जनाए ।

यसैबीच, भारतीय राष्ट्रपति मुखर्जीको सम्भावित जनकपुर भ्रमण कार्यक्रमको एक हप्ता अगाडि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि जनकपुर भ्रमण गर्ने योजना रहेको चापागाईंले जनाएका छन्। ‘हुन त नेपालका राष्ट्रपतिले जनकपुर भ्रमण गर्ने कार्यक्रमको औपचारिक जानकारी आइसकेको छैन’, उनले भने, ‘तर, उहाँ आउन चाहेकाले त्यसको लागि पनि आवश्यक सुरक्षा, सरसफाइ लगायत तयारीमा जुटिरहेका छौं ।’ राष्ट्रपति भण्डारीको भ्रमणको कारण र एजेण्डावारे अहिलेसम्म आफूलाई कुनै जानकारी नआएको उनले बताए ।

 

प्रकाशित: ३ कार्तिक २०७३ १०:२८ बुधबार

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणका लागि सतर्कता