राजनीति

नेपाललाई किन राष्ट्रपति बनाउन चाहन्छन् ओली

फाइल तस्बिर।

माधवकुमार नेपाललाई राष्ट्रपति बनाएपछि नेकपा एसलाई एमालेमा मिलाएर प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बन्ने केपी ओलीको रणनीति छ। यही रणनीतिअन्तर्गत उनले नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेका हुन्। नेकपा एसलाई एमालेमा गाभ्न सके कांग्रेस र माओवादी केन्द्रबाहेक पनि सरकार बनाउन सकिने विश्लेषण ओलीको छ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्षलाई ओलीले आफूनिकट राखेका छन्। रास्वपा, राप्रपा जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका दललाई मिलाएर नयाँ सरकार गठन गर्ने रणनीतिमा ओली रहेको माओवादी बुझाइ छ। एमालेले राष्ट्रपति आफू अनुकूल बनाउन सके प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने र दाहालेले पुन: विश्वासको मत पाउन नसक्ने अवस्थामा संविधानको धारा ७६ (२) अन्तर्गत वा ७६ (३) अनुसार ठूलो दलको हैसियतमा ओली नै प्रधानमन्त्री बन्नसक्ने माओवादी विश्लेषण छ। सरकारको नेतृत्व पाए ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर अघि बढ्न सक्ने भय माओवादी र कांग्रेसमा छ। आफूले भनेअनुसार राष्ट्रपति बन्ने अवस्था नभए एमालेले लोसपा अध्यक्ष महन्थ ठाकुर वा पूर्वप्रधानन्यायाधशीहरूमध्ये कसैलाई सो पदका लागि अघि सार्ने स्रोतको दाबी छ।  

सिटौला पनि सक्रिय  

कांग्रेसले नयाँ राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने तयारी गरेका बेला नेता कृष्णप्रसाद सिटौलाले पनि सोही पदका लागि सक्रियता बढाएका छन्। पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता विमलेन्द्र निधिसहितले पौडेललाई नै राष्ट्रपति बनाउन चाहेका छन्।  

सभापति देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने वचन दिए पनि पूर्वमहामन्त्री सिटौलाले पार्टीभित्र र बाहिरबाट नेतृत्वमाथि दबाब सिर्जना गरेको स्रोतको दाबी छ। ‘उहाँ (सिटौला) को सक्रियता निकै बढेको छ,’ कांग्रेसका एक नेताले भने, ‘अन्तिम अवस्थामा नेता पौडेललाई पछि पारेर उहाँ उम्मेदवार बन्नुभयो भने पनि आश्चर्य हुँदैन।’ माओवादी केन्द्र, नेकपा एससहित दलका नेतासँग सिटौला निरन्तर छलफलमा रहेको कांग्रेस नेताले बताए। सिटौलाका कारण एमालेले थप खेल्ने मौका पाएको टिप्पणी गर्दै एक नेताले भने, ‘उहाँ पनि पार्टीको महत्वपूर्ण नेता हो। तर पौडेललाई छाडेर सिटौलालाई उम्मेदवार बनाए कांग्रेसमा विग्रह र वितृष्णा उत्पन्न हुनेछ।’

प्रकाशित: १२ फाल्गुन २०७९ ००:२९ शुक्रबार

माधवकुमार नेपाल