काठमाडौं- दुई ठूला छिमेकी चीन र भारतले दक्षिण, पश्चिम तथा पूर्वी एसियामा आफ्नो प्रभाव फैलाइरहँदा कमजोर कूटनीतिका कारण नेपाल त्यसबाट फाइदा लिन वञ्चित छ ।
अस्थिर राजनीतिले नेपालको कूटनीति कमजोर बनाउँदा शक्ति र अर्थतन्त्र दुवै दृष्टिले २१औं शताब्दीको उदयीमान राष्ट्र चीन र भारतले हासिल गरेको प्रगतिको लाभ नेपालले लिन नसकेको बुझाइ परराष्ट्र मामिला जानकार औंल्याउँछन् ।
‘भारतले पहिल्यैदेखि दक्षिण एसियामा आफ्नो विशेष प्रभाव देखाउँदै आएको थियो । पछिल्ला दिन चीनले पनि यो क्षेत्रमा सक्रियता बढाउन चाहेको देखिन्छ तर कमजोर कूटनीतिका कारण यसको फाइदा हामीले लिन सकेका छैनौं,’ पूर्वराजदूत नीलाम्बर आचार्यले भने, ‘हाम्रो कूटनीति कमजोर भयो भन्ने सन्देश बाहिर जानुले राम्रो संकेत गर्दैन ।’
केही सातायता भारत र चीनको दक्षिण तथा दक्षिणपूर्वी एसियामा बढ्दो प्रतिस्पर्धा छताछुल्ल देखियो । नोभेम्बरमा पाकिस्तानमा हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलनमा भारतले सहभागी हुन नसक्ने जनाएपछि अन्य सार्क सदस्य भुटान, बंगलादेश, श्रीलंकाले विज्ञप्ति निकालेरै तत्कालको अवस्थामा सम्मेलनमा सहभागी हुन नसक्ने भन्दै भारतलाई साथ दिए ।
सार्क अध्यक्षसमेत रहेको नेपालले भिन्दाभिन्दै भावका तीनवटा विज्ञप्ति जारी ग¥यो । पाकिस्तानलाई एक्ल्याउने भारतको भित्री उद्देश्य पूरा गर्न नेपालले पनि साथ दियो । भारतले सार्कमा आफ्नो पकड रहेको पुनः देखायो ।
‘सबै राष्ट्रसँग नेपालले मित्रता कायम गर्नुपर्छ । मित्रताको प्रभावले होला, नेपालले भारततर्फ बढी झुकाव राखेको देखियो । सार्क अध्यक्ष हैसियतले गर्नुपर्ने जिम्मेवारी नेपालले निभाउन सकेन,’ नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहका सदस्यसमेत रहेका नीलाम्बरले भने ।
आइतबार भारतको गोवामा सम्पन्न ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स समूहको शिखर सम्मेलनमा भारतले सार्क सदस्यराष्ट्रलाई निम्तो नगरी आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्यलाई निम्तो दिएको थियो । सार्क सदस्यराष्ट्रमध्ये पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स मात्र बिमस्टेकमा सदस्य छैनन् । बिमस्टेकका हाल भारत, नेपाल, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्यान्ड सदस्य छन् ।
ब्रिक्स सम्मेलनबाट भारतले स्पष्ट दुई सन्देश दियो– पहिलो, भारतको स्वार्थ दक्षिण एसियाबाट पूर्वी एसियामा सरेको छ । दोस्रो, पाकिस्तानको उपस्थिति उसलाई मन पर्दैन । ब्रिक्स सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्पष्ट शब्दमा पाकिस्तानलाई ‘आतंकवादको जननी’ बताए । आफ्नो राष्ट्रपति ब्रिक्स सम्मेलनमा सहभागी भई स्वदेश फर्केपछि चीनले भारतलाई जवाफ दियो, ‘पाकिस्तान चीनको असल मित्र हो ।’
‘भारत र चीनबीच केही कुरामा प्रतिस्पर्धा त केहीमा एकता छ । ब्रिक्समा एकता कायम गर्न खोजेका छन् भने दक्षिण तथा पूर्वी एसियामा कसले बढी प्रभाव छाड्ने भन्ने प्रतिस्पर्धा । यो प्रतिस्पर्धालाई हामीले बुझ्नुपर्छ,’ नीलाम्बर भन्छन्, ‘पछिल्लो समय चीन पाकिस्तानलाई एक्ल्याउने पक्षमा छैन ।’
केही सातायता भारत र चीनको दक्षिण तथा दक्षिणपूर्वी एसियामा बढ्दो प्रतिस्पर्धा छताछुल्ल देखियो । नोभेम्बरमा पाकिस्तानमा हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलनमा भारतले सहभागी हुन नसक्ने जनाएपछि अन्य सार्क सदस्य भुटान, बंगलादेश, श्रीलंकाले विज्ञप्ति निकालेरै तत्कालको अवस्थामा सम्मेलनमा सहभागी हुन नसक्ने भन्दै भारतलाई साथ दिए ।
पाकिस्तानसँग चीनको विशेष सम्बन्ध छ । चीन आफ्नो पुरानो व्यापारिक मार्ग सिल्करोडलाई ब्युँताउने प्रयासमा छ । सिल्करोडको एउटा मार्ग पाकिस्तानसँग पनि जोडिन्छ । खाडी (अरब) राष्ट्रलाई जोड्ने यो मार्ग पुनः सञ्चालनमा ल्याउन चीनले पाकिस्तानको बलोचिस्तानमा अत्याधुनिक बन्दरगाह निर्माण गर्न ४० अर्ब अमेरिकी डलर खर्च गर्दैछ । भारत र पश्चिममा मुलुक चीनको यो प्रयास सफल नहोस् भन्ने पक्षमा छन् । सफल भयो भने चीनको खाडी राष्ट्रमा प्रभाव बढ्ने आँकलन उनीहरुको छ । यसैकारण भारतीय प्रधानमन्त्री मोदीले पछिल्ला केही महिनायता पाकिस्तानले स्वतन्त्र बलोचिस्तान माग गर्ने आन्दोलनकारीमाथि पाकिस्तानले दमन गरिरहेको आरोप लगाइरहेका छन् । यो कुरालाई मोदीले हालै मात्र संयुक्त राष्ट्रसंघको महासभामा समेत उठाए ।
चीनको पुरानो व्यापारिक मार्ग सिल्करोडको नाता नेपालसँग पनि छ । तीनवटा सिल्करोड नेपाल हुँदै सञ्चालन हुन्थे । पहिलो, मुस्ताङ भएर कालीगण्डकी गडतिरै गडतिर भारत जोड्ने, दोस्रो काठमाडौं उपत्यकालाई सिगात्से हुँदै ल्हासा जोड्ने र तेस्रो पश्चिम तिब्बतबाट हुम्ला, जुम्लाबाट दक्षिण जाने सिल्क रोडलाई ब्युँताउने योजनामा चीन र नेपाल सहमत भइसकेका छन् भने भारतलाई मनाउने प्रयास भइरहेको छ । यसैका लागि चीन र नेपालले त्रिदेशीय साझेदारी (नेपाल, चीन र भारत) को अवधारणा अघि सारेका थिए जसलाई भारतले रुचाएको छैन । ब्रिक्स सम्मेलनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल, चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच त्रिपक्षीय अनौपचारिक भेटवार्तामा यो विषयले प्रवेश पाएको थियो तर स्रोतअनुसार मोदीले यसमा रुचि देखाएनन् ।
‘सिल्करोड ब्युँत्याई नेपालबाट भारत, बंगलादेश हुँदै म्यानमारसम्म जाने सोच चीनको छ,’ पूर्वराजदूत जयराज आचार्यले भने, ‘नेपालको राजनीतिक अस्थिरताका कारण चीनले योजना फेरबदल गर्न सक्छ । चीनसँग म्यानमारबाट प्रवेश गरी बंगलादेश हुँदै भारत प्रवेश गर्ने विकल्प छ ।’
चीनले दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र पश्चिम एसियाको ठूलो बजारमा पकड जमाउन र आफ्नो अर्थतन्त्र मजबुत बनाउन पुरानो सिल्करोड ब्युँताउन खोजिरहेको छ । रणनीतिक रुपमा पनि सिल्करोड चीनलाई फाइदाजनक हुनेछ ।
प्रमुख समुद्री व्यापारिक मार्ग साउथ चाइना सी विवादमा तानिएपछि चीनले रणनीतिक दृष्टिकोणले पनि सिल्करोड अगाडि बढाएको हो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ बंगलादेश हुँदै ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतको गोवा पुगेका थिए । सीको भ्रमणका बेला चीन र बंगलादेशबीच २३ अर्ब अमेरिकी डलरबराबरको पूर्वाधार विकाससम्बन्धी २७ वटा सम्झौता तथा सहमतिपत्रमा हस्ताक्षर भयो । ब्रिक्स सम्मलेनमा सहभागी हुन आउँदा चिनियाँ राष्ट्रपतिले बंगलादेश र नेपालको भ्रमण गर्ने लगभग तय भएको थियो तर केपी शर्मा ओली सरकार परिवर्तनमा भारतीय हात रहेको र ओलीको पालामा चीनसँग भएको पारवहन लगायत महत्वपूर्ण सम्झौता कार्यान्वयनमा दाहाल सरकारले ढिलाइ गरेको भन्ने बुझाइ चिनियाँ पक्षमा परेपछि उनको नेपाल भ्रमण स्थगित भएको थियो ।
त्यसपछि उनी बंगलादेशहुँदै ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत पुगेका थिए ।
‘चीनपछि विश्वबजारमा ठूलो परिमाणमा तयारी पोसाक निर्यात गर्ने राष्ट्र बंगलादेश हो । उसले वार्षिक २८ अर्बको तयारी पोसाक निर्यात गर्छ । तैपनि चीनले बंगलादेशमा त्यति ठूलो लगानी गर्दैछ । हामीकहाँ किन हुन सकिरहेको छैन, सोच्नुपर्ने बेला भएको छ,’ जयराज भन्छन् ।
राजनीतिक दलका नेता सत्ताकेन्द्रित मात्र भइदिँदा दुई ठूला छिमेकीले हासिल गरेको प्रगतिको लाभ नेपालले लिन नसकेको बुझाइ परराष्ट्र मामिला जानकारको छ । राजनीतिक खिचातानीका कारण चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नसकेको ठम्याइ उनीहरुको छ ।
‘नेपालसँग चीनको गाढा मित्रता छ, तर राष्ट्रपति आउनुभएन । हाम्रा राजनीतिक दलका नेताले अब गम्भीर भएर यसको कारण बुझ्न र आउँदा दिनमा त्यसो हुन नदिन जरुरी छ,’ नीलाम्बरले भने ।
एउटासँग सम्बन्ध राख्दा अर्कोको मुख हेर्ने नेताहरुको बानीले कूटनीति कमजोर बन्दै गएको उनी बताउँछन् । उनले थप स्पष्ट पारे, ‘मुख्य राजनीतिक दलबीच गम्भीरता भएन । गृहकार्य र पूर्वतयारी केही छैन । सबैभन्दा पहिला परराष्ट्र नीतिमा प्रमुख दलबीच एकता कायम हुनुपर्छ, अनिमात्र ठूला राष्ट्रसँग डिल गर्न सहज हुन्छ ।’ कमजोर कूटनीतिका कारण विश्व समुदायमा नेपालप्रतिको विश्वास घट्दो क्रममा रहेको उनी बताउँछन् ।
‘ठूला देशले प्रभाव बढाउन खोज्नु स्वाभाविक हो तर हामीले त्यसको सामना गर्नसक्ने कूटनीतिक क्षमता बनाउन सक्नुपथ्र्यो । त्यसमा हामी चुक्यौं । वर्तमान अवस्थामा चीन र भारतको प्रभावबाट मुक्त हुने क्षमता र सामथ्र्य हामीसँग छैन,’ जयराज भन्छन् ।
राजनीतिले कूटनीतिलाई गाइड गर्ने धारणा उनको छ । उनकै शब्दमा कूटनीति ‘गाडी’ हो भने राजनीति ‘ड्राइभर’ । राजनीतिज्ञले जता हाँक्यो, कुटनीति उतै जान्छ । उनी भन्छन्, ‘हाम्रा ड्राइभरलाई सत्ताको मात्र चिन्ता भयो ।’ यस्तो अवस्थामा नेपालसँग एउटै मात्र विकल्प रहेको बुझाइ जयराजको छ । ‘हामी उनीहरुको प्रभावबाट अलग रहेर विकसित हुन सक्दैनौं । त्यसैले हाम्रो पनि हित हुनेगरी उनीहरुको प्रयासमा साझेदार हुने बाटो नै सबैभन्दा उत्तम हो,’ उनले सुनाए।
प्रकाशित: ३ कार्तिक २०७३ ००:५७ बुधबार