राजनीति

तीन नेता भेट 'सुखद संयोग'

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ अनौपचारिक भेटवार्ता हुनुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले 'सुखद संयोग' भनेका छन्। उक्त छलफलमा आफूले त्रिदेशीय साझेदारीको विषय उठाएको दाहालले जानकारी दिए।

भारतको गोबामा भएको 'ब्रिक्स आउटरिच' सम्मेलनमा भाग लिएर फर्केपछि सोमबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस विषयलाई दुवै नेताले सकारात्मक रुपमा लिएको बताए।

'संयोगहरुले कहिलेकाहीँ दुर्घटना निम्त्याउँछ भने कहिले सुखद परिणाम,' दाहालले ब्रिक्स सम्मेलनको प्रतीक्षा कक्षमा भएको भेट पूर्वनिर्धारित नरहेको जनाउँदै भने, 'छिमेकी मित्रराष्ट्रका उच्च राजनीतिक नेतृत्वसँग त्रिदेशीय हितका पक्षमा मिलेर काम गर्र्ने सम्बन्धमा आफ्नो सम्बन्धमा आफ्नो विचार राख्ने मौका पाएँ र उहाँ (सी र मोदी) ले पनि त्यसलाई सकारात्मक रुपमा लिनुभयो।'

यसअघि भारतीय पक्षले त्रिदेशीय अवधारणाप्रति खासै सकारात्मक प्रतिक्रिया दिने गरेका थिएनन्।

दाहालले अन्य देशका राष्ट्र वा सरकारप्रमुखको आवतजावत क्रममा देखिएको केही प्राविधिक समस्याका कारण दाहाल बसिरहेको प्रतीक्षा कक्षमा चिनियाँ राष्ट्रपति सी आइपुगेका थिए।

दाहालले चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री मोदीसँग समय मिलाएर 'वान टु वान' वार्ता चाहे पनि सम्भव हुन नसकेको अवस्थामा उक्त भेट भएको बताए।

'ढुंगा खोज्दा देउतै भेटेजस्तो भयो,' उनले भने, 'चिनियाँ राष्ट्रपतिसँग हर्ट टु हर्ट कुराकानी भयो।'

करिब २० मिनेट भएको अनौपचारिक छलफल क्रममा दाहालले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमण गर्न पुनः आग्रह गरेका थिए।

'चीनसँग भएको सहमति कार्यान्वयन, नेपालको विकासको आवश्यकता, शान्ति प्रक्रिया टुंग्याउने, संविधान कार्यान्वयनलगायत विषयमा कुराकानी भयो,' दाहालले भने, 'पूर्वानिर्धारित होइन तर करिब २० मिनेट नेपालको हितका विषयमा सिधासिधा कुरा गर्ने अवसर प्राप्त भयो।'

विभिन्न कारण ब्रिक्सको नेता आइपुगेका समयमा भारतीय प्रधानमन्त्री मोदी पनि सोही प्रतीक्षा कक्षमा आइपुगेको बताउँदै दाहालले भने, 'कस्तो संयोग पर्‍यो भने मोदीजी मेरोभन्दा दक्षिणतर्फ र राष्ट्रपति सीचाहिँ उत्तरतर्फ र मेराबीच भए। दुई विशाल छिमेकीका बीच म भनेरै कुरा सुरु गरेका थिए।' पहिलेदेखि नै त्रिदेशीय साझेदारीको विषयलाई उठाउँदै आएको भन्दै दाहालले भने, 'नेपाल सानो छ र आर्थिक रुपमा पछि परेको छ। त्रिदेशीय साझेदारी भयो भने दुवै देशले गरेको प्रगतिबाट नेपालले फाइदा लिन सक्छ।'

निकै सकारात्मक माहोलमा ठूलो काम गरिसकेको नेपालले सानो भनेर सोच्नु नपर्ने भन्दै दुवै नेताले त्रिदेशीय साझेदारीको विषय सकारात्मक भएको बताएको दाहालले खुलाए। 'त्यहाँ हामी समझदारी गर्न बसेको होइन। त्यसमा सकारात्मक धारणा व्यक्त भएको हो,' उनले भने, 'भेट नेपालीका लागि गौरव र खुसीको विषय हो। कहिलेकाहीँ संयोगले दुर्घटना निम्त्याउँछ भने कहिले उपलब्धि हासिल हुन्छ। यो सुखद संयोग थियो।'

बुद्धले तीनवटै देशलाई जोडेको भन्दै प्रधानमन्त्री दाहालले भने, 'आधुनिक युगमा विज्ञान र प्रविधिले हामीलाई जोडेको छ।'

प्रकाशित: २ कार्तिक २०७३ ०२:११ मंगलबार

नेता सुखद संयोग