राजनीति

राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरिएको छ। संघीय संसद बानेश्वरमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज अन्तिम नामावली सार्वजनिक गरेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा ८८१ जनाको नाम सार्वजनिक गरेको हो ।  

यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ। राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरीको समय भोलि १२ बजेसम्म तोकिएको छ। सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ।

निर्वाचन तालिका अनुसार राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ  । राष्ट्रपति विद्यादेवी भण्डारीको समय अवधि फागुन २८ सकिदैछ।  

प्रकाशित: १० फाल्गुन २०७९ ०८:१६ बुधबार