राजनीति

एमालेले चाहेको व्यक्ति राष्ट्रपति बन्छः सुर्य थापा

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले चाहेको व्यक्ति राष्ट्रपती बन्नेमा ढुक्क रहेको बताएका छन्। मिडियामा अनेक हल्लाहरु आएपनि एमालेले अघि सारेको व्यक्ति नै राष्ट्रपति बन्ने उनको दाबी थियाे।

नेकपा एमालेले आयोजना गरेको ‘मिसन ग्रासरुट’ अभियानको सन्धिखर्कमा शुभारम्भ गर्दै उनले सत्ता गठबन्धन कसैले चाहँदैमा नटुट्ने बताए। अहिलेको गठबन्धन मुलुकको आवश्यकता र समयको माग भएको भन्दै उनले गठबन्धनलाई अझै कसिलो र बलियो बनाएर पाँच बर्ष नै कायम राख्ने बताए।  

नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका नेता थापाले सत्ता गठबन्धन भत्काउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्र भैरहेको भन्दै बिचारको आधारमा बनेको गठबन्धनलाई भत्काउने सामर्थ्य कसैमा नभएको दाबी गरे। उनले पौष १० को आधारमा राजनितीक कोर्स अगाडी बढी रहेको भन्दै नेकपा माओवादी केन्द्र पनि ईमान्दार भएर अगाडि बढ्नेमा आफुहरु विश्वस्त रहेको बताए। ‘गठबन्धन भत्काउन कोसिसहरु भईरहेका छन्', उनले भने, ‘बाहिर आएजस्तो कुरा छैन, एमालेले अघि सारेको उम्मेद्वार नै विजयी हुन्छ।’

प्युठान जिल्ला बाट निर्वाचित सांसद थापाले प्युठान र अर्घाखाँचीको प्रेमभाव पुर्ण सम्बन्ध रहेको बताए। उनले दुवै जिल्लामा नेकपा एमालेले विजय हासिल गरेकाले जिल्लालाई नमुना बनाउने गरि विकास निर्माणको काम गर्नुपर्नेमा जोड दिए।

नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिनेश पन्थीले नेकपा एमाले मात्र  जनताको सच्चा पार्टी भएको बताए। उनले पार्टी लाई थप बलियो र जनमुखी बनाउन अभियानले सहयोग पुर्याउने दावी गर ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य  रामजी  प्रसाद घिमिरेले पार्टीलाई थप गतिशिल र जुझारु बनाउन अभियानले सहयोग पर्याउने बताए। उनले अभियान पछि पार्टीमा गतिशीलता बढ्ने दावी समेत गरे।

संगठन विस्तार र पार्टी सुदृढिकरण गर्ने उद्देश्यले दुईमहिने अभियानका लागि एमालेको केन्द्रीय सचिवालयले सात सय ५३ वटै पालिकामा संगठन विस्तार गर्न निर्देशन दिएको छ । सोही बमोजिम नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीद्वारा आयोजित मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)–२०७९ अभिमुखिकरण कार्यक्रम सुरु भएको हो।

अर्घाखाँचीका ६ स्थानियतह मध्ये मालारानी गाउँपालिका र भुमिकास्थान नगरपालिकामा सूर्य थापाको नेतृत्वमा कार्यक्रम हुनेछ । छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा दिनेश पन्थी तथा सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकामा पोलिटब्युरो सदस्य विमला घिमिरेको नेतृत्वमा कार्यक्रम गरिने नेकपा एमाले अर्घाखाँचीले जनाएको छ।

दुई महिनासम्म वडा हुँदै टोलसम्मको कमिटी गठन–पुनर्गठन र संगठन विस्तारका लागि खटाइएको पार्टीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए।

प्रकाशित: १० फाल्गुन २०७९ ०३:५८ बुधबार