राजनीति

कार्की निवासमा सूचना नटाँसी फर्कियो सर्वोच्च टोली

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दामा म्याद बुझाउन गएका सर्वोच्च अदालतका कर्मचारी रित्तोहात फर्केका छन् । काठमाडौं वडा नम्बर १० का वडा सचिव सरिता राई उपस्थित नहुँदा कर्मचारी कार्कीको घरमा सूचना नटाँसी फर्किएको हो । सर्वाेच्चको टोली बुधबार दिउँसो म्यादको पत्र लिएर उनको निवास बानेश्वर हाइट पुगेको थियो ।

घरमा म्याद टाँस गरी मुचुल्का उठाउन सम्बन्धित क्षेत्रको वडासचिवलाई रोहवर राख्नुपर्ने कानुनी व्यवस्था भए पनि सचिव राई नआएपछि सर्वोच्च टोली त्यत्तिकै फर्किएको हो । सर्वाेच्चले वडा कार्यालयलाई पहिल्यै खबर गरेको भए पनि सचिव नआएको सर्वोच्चका तामेलदार शम्भु खत्रीले बताए ।

‘वडासचिव हाजिर गरेर निस्किनुभएको रहेछ,’ खत्रीले भने, ‘३÷४ घन्टा कुर्दा पनि उहाँको अत्तोपत्तो लागेन ।’

राष्ट्रपतिको कार्यालय शितलनिवासलाई समेत विपक्षी बनाइएको उक्त सूचनामा कार्कीलाई अख्तियारको प्रमुख आयुक्त नभई पूर्व मुख्य सचिवका रुपमा चिनाइएको छ । कार्कीका नाममा तामेलीका लागि पठाइएको सूचनामा भनिएको छ– ‘यस अदालतबाट मिति २०७३÷५÷३१ पुनरावलोकनको लागि निस्सा प्रदान गर्ने आदेश भएकोले सो आदेशको प्रतिलिपि साथै राखी जानकारीको निम्ति यो सूचना पठाइएको छ । सो मुद्दामा आफ्नो सबुत प्रमाण लिई तपाईं आफैँ वा ऐनबमोजिम वारेसलाई उपस्थित हुन पठाउनु होला । सूचना तामेल भएको १५ दिनपछि मुद्दा पेशीमा चढ्न सक्नेछ ।’

वडासचिव सम्पर्कमा नआएपछि सिधै बानेश्वरस्थित घर पुगेको अदालत टोली त्यहाँ कार्की परिवार नबसेको थाहा पाएपछि म्याद नटाँसी फर्केको थियो । ‘घर पूरै भाडामा रहेछ,’ तामेलदार खत्रीले भने, ‘सबै भाडामा रहेको घरमा म्याद टाँस्न मिल्दैन, त्यसैले हामी फर्कियौं ।’

बिहीबार कार्कीको कार्यालयमै गएर तामेल गर्ने उनले जनाए । काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तमाङले भने वडा कार्यालयका सचिवहरूको स्थानीय निकायलाई डिजिटाइज गर्ने विषयमा तालिम चलिरहेका कारण उपस्थित नभएको हुन सक्ने बताए । उनले पाँच नम्बर वडामा पर्ने टंगालमा गए सहयोग हुने जानकारी दिए ।

अदालतको आदेश भएको समयदेखि कार्कीसँग भेट हुन नसकेपछि सर्वोच्च कर्मचारी निवास पुगेका थिए । कार्की अदालतको आदेश आएको समयदेखि विदेश भ्रमणमा रहेका कारण म्याद तामेल हुन सकेको थिएन । लामो समयदेखि म्याद तामेल हुन नसकेको र नजिकै दसैं बिदा आएपछि सर्वोच्चले ताकेता गरेको हो ।

कार्की विरुद्धको मुद्दा पुनरवलोकनको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

प्रकाशित: २० आश्विन २०७३ ०२:२० बिहीबार

कार्की निवासमा सूचना नटाँसी फर्कियो सर्वोच्च टोली