राजनीति

दसैंपछि मात्र राज्यमन्त्री

काठमाडौं- नेपाली कांग्रेसले दसैंअघि पार्टीका थप नेतालाई सरकारमा सहभागी नगराउने भएको छ । राज्यमन्त्रीका आकांक्षी धेरै भएपछि कांग्रेसले दसैंपछि मात्र थप नेतालाई सरकारमा पठाउन लागेको हो । सरकारमा सहभागी हुने संख्या कम र बाहिर पर्नेको संख्या बढी हुने जनाउँदै निकट एक नेताले भने, ‘सबै साथीले दसैं हाँसीखुसी मनाएपछि मात्र राज्यमन्त्री पठाउने सहमति बनेको छ ।’

पार्टी नेता रामचन्द्र पौडेलपक्षको केही दिनअघि सम्पन्न भेलाले पनि संघारमै दसैं आएको जनाउँदै त्यसअघि राज्यमन्त्री पठाउन नहुने ठहर गरेको थियो । ‘रामचन्द्रजीहरुको पनि त्यही (दसैंपछि) मात्र पठाऊँ भन्ने कुरा आयो,’ निकट स्रोतले भन्यो ।

दसैंअघि नै राज्यमन्त्री बनाउने आश्वासन पाएका केही सांसदको गृहजिल्ला फर्कने टुंगो अझै भएको छैन । ‘दसैंअघि नै हुन्छ भन्ने आश्वासन थियो,’ राज्यमन्त्री बन्ने चर्चामा रहेका एक नेताले भने, ‘आज (बुधबार) सम्म भइसक्छ भन्ने थियो, जिल्ला जानु कि बस्नु अन्योल भयो ।’

कांग्रेसले सोमबारै आठ नेतालाई राज्यमन्त्रीसहित सरकारमा सहभागी गराउने तयारी गरेको थियो । उसले अब्दुल रज्जाक, सुवर्ण ज्वारचन, दिलीप गच्छदार, आङ्टावा शेर्पा, दीर्घराज भाट, सुरेन्द्र आचार्य, जीवन परियार, तारामान गुरुङ र सरिता प्रसाईंमध्येबाट राज्यमन्त्री बनाउने अन्तिम तयारी थियो ।

सभापति देउवा आफूनिकट पाँच, रामचन्द्र पौडेल पक्षका दुई र कृष्णप्रसाद सिटौला समूहका एक नेतालाई राज्यमन्त्री बनाउने तयारीमा थिए । नेता पौडेलले भने आठमा चार आफ्नो पक्षका हुनुपर्ने दाबी गर्दै राज्यमन्त्रीहरु पार्टी विधि र विधानअनुसार छनोट हुनुपर्ने अडान पनि दोहो¥याएका छन् । ‘सम्मानजनक सहभागिताका साथै विधि, विधान र पद्धतिअनुसार मन्त्री छनोट हुनुपर्छ,’ पौडेल निकट एक नेताले भने, ‘घरबाट होइन, संस्थागत हुनुपर्छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा उपप्रधानमन्त्रीसहित १५ मन्त्रालयसहित कांग्रेस सहभागी छ ।

प्रकाशित: २० आश्विन २०७३ ०२:२० बिहीबार

दसैंपछि मात्र राज्यमन्त्री