राजनीति

कुनैपनि खेलबाट नागरिकता विधेयक रोके सडक संघर्ष शुरु गर्छौंः प्रदीप यादव

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले कुनैपनि खेलबाट नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष शुरु गर्ने चेतावनी दिएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो चेतावनी दिएका हुन्। उनले आवाजबिहीनको आवाज कसले सुनिदिने? भन्दै प्रश्न गरे। उनले जन्मसिद्ध नागरिकको सन्तानहरु नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरुको लागि न्याय कहिले दिने भन्दै प्रश्न गरे।

उनले कुनैपनि खेल गरेर नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक संघर्ष शुरु गर्ने चेतावनी दिए।  

यादवले भने, ‘यो न्यायको मन्दिर हो। आवाजबिहीनको आवाज कसले सुनिदिने? जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने? रुँदै आउँछन् उनीहरु। उनीहरुको लागि न्याय दिने आज कोही छैन। यही न्यायको मन्दिर हो नि। यहीँबाट जनताले न्याय पाउने हुन् नि सभामुख महोदय। जन्मसिद्ध नागरिकका सन्तानको के गल्ती छ? बाबु र आमा नेपाली नागरिक हुँदा हुँदै पनि आज नागरिकता बिना भड्किरहेका छन्। म यो सरकारलाई चेतावनी दिन चाहन्छु, अब कुनै खेलले नागरिकता विधेयक रोक्ने ढिलो गर्ने प्रयास भयो भने जनता समाजवादी पार्टी सडक र सदन २ वटैमा संघर्ष गर्छ।’

सांसद यादवले संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबिहीन अवस्थामा राख्नु बिडम्वनापूर्ण भएको बताए।  

प्रकाशित: ३ फाल्गुन २०७९ ०७:५० बुधबार

सांसद प्रदीप यादव