राजनीति

अदालतको फैसला आएन, लिखित बहस पेश गर्न आदेश

चितवन–चितवन जिल्ला अदालतमा अढाइ वर्षअघि दायर भएको गोरखा फुजेलका कृष्ण अधिकारी हत्या सम्बन्धि मुद्दाको फैसला समय लम्बिएको छ। सो मुद्दामा चितवन जिल्ला अदालतमा आइतबार, सोमबार र मंगलबार पक्ष विपक्षका कानुन व्यवसायीले बहस गरेका थिए। बहसपछि अदालतले अन्तिम फैसला नसुनाएर कानुन व्यवसायीलाई लिखित बहस नोट पेश गर्न आदेश दिएको छ।

कात्तिक पाँच गतेभित्रै लिखित बहस अदालतमा बुझाउन जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले आदेश गरेको छ।

‘पक्ष विपक्षका कानुन व्यवसायीले तीन दिनसम्म मौखिक बहस गरेका थिए। मौखिक बहस सकियो अब अन्तिम फैसलाअघि  कानुन व्यवसायीलाई फेरि लिखित रुपमा नै बहस पेस गर्न आदेश भएको छ’, चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले भने। कात्तिक पाँच गतेभित्रै लिखित बहस अदालतमा बुझाउन जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले आदेश गरेको छ।

 गोरखा फुजेलका कृष्ण अधिकारी चितवन रत्ननगरमा रहेका हजुबुवालाई भेट्न आएका बेलामा माओवादी सशस्त्र संघर्ष चर्केको समय विस २०६१ सालको जेठ २४ मा अपहरणपछि हत्या भएको थियो। घटनाको जिम्मा तत्कालीन रुपमा माओवादीले नै लिएको थियो। तर मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारवाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका थिए।

 लामो समयसम्म कारवाही नभएपछि कृष्ण अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए। उनीहरु अनशनसमा बसेका लामो समयपछि प्रहरीले विस २०७० साल साउनबाट सो उजुरीका बारेमा अनुशन्धान सुरु गरेको थियो। उजुरीमा संलग्नमध्ये केहीलाई समाएर अनुशन्धान गरी मुद्दा चलाउन प्रयास भए पनि मुद्दा दर्ता हुन सकेको थिएन।

नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि उजुरी विरुद्ध अनुशन्धान पूरा भइ विस २०७० सालको चैत्र मसान्तमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। अदातलमा सो घटनामा १३ जना प्रतिवादी कायम भएका थिए। सबैलाई जन्म कैद माग गरिए पनि प्रमाण नुपग्ने भन्दै अदालतले सो समयमा समातिएका दुईजनालाई धरौटीमा छाडेको थियो।

चितवन जिल्ला अदालतको प्रारम्भिक आदेश विरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमासमेत निवेदन पुगेपछि एकजना अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नु पर्ने आदेश भएको थियो। अनशनकै क्रममा एक वर्षअघि कृष्णप्रसादका बुबा नन्दप्रसादको ज्यानै गएको छ। उनको हालसम्म दाहसंस्कार पनि भएको छैन । गंगामायाको अवस्था पनि नाजुक छ।

 

प्रकाशित: ११ आश्विन २०७३ १०:२४ मंगलबार

अदालतको फैसला आएन लिखित बहस गर्न आदेश