राजनीति

विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन शिलान्यास

विराटनगर विमानस्थलको टर्मिनल भवनको शिलान्यास गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती। तस्बिरः चुमन बस्नेत /नागरिक

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विराटनगर विमानस्थलमा नयाँ निर्माण हुने टर्मिनल भवनको शिलान्यास गरेका छन्।  सोमबार विराटनगर विमानस्थल परिषरमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले नयाँ टर्मिनल भवनको शिलान्यास गरेका हुन्। 

टर्मिनल भवन शिलान्यास गर्दै किराँतीले विराटनगरमा निर्माण हुने  आन्तरिक टर्मिनल भवन प्रदेश १ का लागि हवाई उड्डयनको विकासमा कोसेढुंगा सावित हुने बताए। किराँतीले तोकिएकै समयमा भवन निर्माण सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिए। टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठुलो भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटरको छ। गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन पनि १४ हजार वर्ग मिटरको छ। विमानस्थलको धावन मार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियो। संघ सरकारले ५० प्रतिशत प्रदेश सरकारले ४० प्रतिशत र महानगरपालिकाले १० प्रतिशत तिर्ने सहमति भएको थियो। तर आर्थिक अभावमा भएको भन्दै अधिग्रहण गर्ने भनिएको जग्गाको रोक्का फुकुवा गरिएको थियो। तीन वर्षभित्र टर्मिनल भवन निर्माण गर्ने  ठेक्का केसी डाफे जेभीले लिएको छ। यसअघि २०२५ सालमा विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माण भएको थियो।

भ्याटबाहेक २ अर्ब ४२ करोड लागतमा निर्माण हुने टर्मिनल भवन १६ हजार २ सय ७७ वर्ग मिटरको छ। विराटनगर विमानस्थलको धावन मार्ग पनि विस्तार गरिने भएको छ। महानिर्देशक अधिकारीका अनुसार धावन मार्ग दुई  सय ७० मिटर विस्तार गरिने  छ। हाल  विमानस्थलको धावन मार्ग एक हजार ५ सय मिटर छ। बिस्तारपछि विराटनगर विमानस्थलको धावनमार्ग एक हजार सात सय ७० मिटरको हुनेछ। 

कार्यक्रममा  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्रदेश १ को राजधानी विराटनगर भएकाले विराटनगर व्यवस्थित नभई प्रदेशका अन्य सहरहरू व्यवस्थित नहुने बताए। उनले विराटनगरलाई व्यवस्थित महानगर बनाउने अभियानमा महानगरपालिका लागिरहेकाले महानगरपालिकाको अभियानलाई सहयोग गर्न प्रदेश र संघीय सरकारलाई आग्रह गरे। कोइरालाले भने ‘ प्रदेशको राजधानी भएकाले विराटनगर व्यवस्थित नभई आसपासका अन्य सहरहरू र समग्र प्रदेश नै व्यवस्थित नहुने भएकाले विराटनगरलाई व्यवस्थित बनाउने काममा सहयोग गर्न प्रदेश र संघीय सरकारलाई आग्रह गर्दछु।’ कोइरालाले विराटनगर ,चिन भारत, भुटान र बङ्गलादेशको नजिक भएर पनि प्रदेश १ कै अन्य जिल्ला जानका लागि जहाज चढ्न काठमाण्डौं नै पुग्नुपर्ने बाध्यता रहेको  गुनासो गरे। कोइरालाले विराटनगर विमानस्थलबाट प्रदेश १ का सबै विमानस्थलमा जहाज चल्ने व्यवस्था गर्न मन्त्री किराँतीसँग माग गरे।  होटेल व्यवसायी राजन श्रेष्ठले विराटनगर विमानस्थल बिस्तारका लागि उद्योगी व्यवसायीहरूले बर्षौंदेखि माग गर्दै आएको बताए। उनले विराटनगर विमानस्थललाई  अन्तर्राष्ट्रिय स्तरको विमानस्थलका रुपमा चाँडो बिस्तार गर्न सरकारसँग माग गरे। श्रेष्ठले विराटनगरबाट माउण्टेन फ्लाइट, सञ्चालन गर्न, प्रदेश १ का सबै विमानस्थलमा जहाज सञ्चालन गर्न र भारतलगायतका देशमा पनि विराटनगरबाटै विमान सेवा सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरे। 

प्रकाशित: १ फाल्गुन २०७९ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App