राजनीति

माकुराको जालोमा ‘माओवाद’

सन्दर्भ जनयुद्ध दिवस

२०५२ साल फागुन १ गते रोल्पाको ‘होलेरी’ इलाकाप्रहरी कार्यालय, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका प्रहरी चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषिविकास बैंक कब्जा गरी माओवादी विधिवत भूभिगत भएको थियो। उक्त आक्रमणका हस्तीहरू अहिले रोल्पाबाट निर्वाचित जनप्रतिनिधि छन्।  

प्रतिनिधिसभामा जितेका वर्षमान पुन, प्रदेशसभा (ख)बाट निर्वाचित दीपेन्द्र पुन ‘होलेरी’आक्रमणमा सहभागी पात्र हुन्। त्यसो त आक्रमणका मुख्यपात्र नन्दबहादुर पुन अहिले उपराष्ट्रपति छन् भने लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री कुलप्रशाद केसी पनि उक्त आक्रमणका मुख्य हस्ती हुन्।उनीहरू जस्तै १० वर्षे युद्धका धेरै योजनाकारहरू सत्ताको दैलोभित्र छन्।  

सोही १० वर्षे सशस्त्र द्वन्द्वका अर्का रोल्पाली हस्ती नेत्रविक्रम चन्द यतिबेला एकीकृत जनक्रान्तिका नारा बोकेर अर्ध भूमिगतजस्तै छन्। बाबुराम र वैद्यहरू कहिले चर्चामा त कहिले गुमनामहुने गर्छन्। बन्दुकको नालबाट सत्ताप्राप्तिको लक्ष्य बोकेका जस्ता देखिने हिजोका उग्र वामपन्थीले यतिबेला माओवाद भने भुलिसकेका छन्।  

केही वर्षअगाडि रोल्पाको थबाङमा भएको पहिलो अधिवेशनमा माओवादलाई उतै छाडेर आएको विप्लव नेतृत्वको विद्रोही नेकपा र एमालेसँग पिरती गाँस्दा माओवादलाई छेउतिर पन्छाएको सरकारी माओवादीले पनि पछिल्लो समय माओवादलाई किनारा लगाउने तयारी गरिरहेको छ।  

तत्कालीन माओवादीका गतिविधिले पूर्वलडाकु र कार्यकर्ता भने यतिबेला असन्तुट देखिन्छन्। होलेरी आक्रमणसँगै भूमिगत भएको तत्कालीन माओवादी र उसको नेतृत्वले पछिल्लो राजनीतिक परिवर्तनमाआफ्नो अमूल्यभूमिका रहेको दाबी गर्दै देश समृद्धिको बाटोमा अगाडि बढेको बताइरहँदा आमजनमासमा असन्तुष्टि बढ्दै गएको हो।अहिलेसम्म राजनीतिक परिवर्तनबाहेक समयक्रमले भएको वा हुनसक्ने विकासबाहेक केही भएन भन्ने गुनासो युद्धमा लागेकैहरू बताउँछन्। परिवर्तनको मिठो सपना बोकेर करिब ३ दशकअगाडि बन्दुक समाएका लडाकुहरूसमेत यतिबेला अलमलमा देखिन्छन्। पछिल्लोसमय तत्कालीन माओवादी कार्यकर्तामा आएको विचलन देखेर माओवादी लडाकुका पूर्वकमाण्डर पनि दिक्क छन्।

तत्कालीन ५आैं डिभिजनका सहायक ब्रिगेड कमाण्डर क्षितिज मगर हिजोआज माओवादी कार्यकर्ताको रहन सहन र जीवनशैली फेरिएकोमा अचम्मित छन्। उनी भन्छन्,‘जनयुद्धको मूल्य मान्यता छोडेर माओवादीले विचार र सिद्धान्त फेरेको छ,’मगर थप्छन्, ‘नाम मात्र छोडेको हैन नेतृत्वले माओवाद नै छोडिसकेको छ। हुन त माओवाद भन्दाबित्तिकै हिंसात्मक जस्तो देखिने भएकाले नाम फेर्न खोजिएको होला तर माओवादको नाममा भ्रष्टीकरण हुनु भन्दा नाम फेरेकै राम्रो हो।’ माओवादीले माओवाद भुलेको उनको निष्कर्ष छ। राज्यले उपेक्षा गरेका मगर अचेल दाङमा मजदुरी गर्छन्। भर्खरै भेंडी कम्बलको प्वाल कथा संग्रह प्रकाशन गरेका उनको मनमामा ओवादीप्रति अपेक्षा मरेको बताउँछन्।  

सानै उमेरमा माओवादी युद्धमा होमिएका पूर्वलडाकुका कम्पनी कमाण्डर नवीनलोचन मगर अहिले रोल्पामा बसेर पत्रकारिता गर्दैछन्। एक राष्ट्रिय दैनिकसँग आबद्ध उनले स्थानीय सनस्टार साप्ताहिक प्रकाशन गर्दै आएका छन् भने पत्रकार महासंघ रोल्पाका अध्यक्ष पनि हुन्। माओवादीले भनेको जनयुद्ध लडेका उनी पछिल्लोसमय देखिएको युद्ध लडेर आएकाको गतिविधिले असन्तुष्ट छन्। ‘नेतृत्वमा परिवारवाद हाबी भयो। कार्यकर्ता सामाजिक र सांस्कृतिक विचलनमा छन्। नगर्नुपर्ने गतिविधिमा तत्कालीन माओवादी नेताकार्यकर्ताको उल्लेख्य सहभागिता देखिन्छ।’

माओवादी द्वन्द्वलाई नजिकबाट भोगेका नवीन यतिखेर जनयुद्ध सही थियो या गलत भन्नेमै अन्योलमा देखिन्छन्। ‘जनयुद्ध धोका होइन, समयअनुसार गर्नैपर्ने थियो। ’उनी माओवादीले नाम परिवर्तन गर्न खोजेको कुरामा थप्छन्,‘परिस्थितिअनुसार परिवर्तन हुनुपर्छ तर सिद्धान्तभन्दा दायाँबाँया हुनु भएन। अन्य दलजस्तै पूर्वमाओवादी कित्ताका प्रायः सबै नेतृत्व यतिबेला सिद्धान्तमा छैनन्। यसको उदाहरण सत्ताका लागि हुने गरेको गठबन्धन हो।’  

केही महिनाअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको छेउमा बसेका माओवादी सुप्रिमो प्रचण्डका अघिल्तिर द्वन्द्वका समयमा यौन हिंसा खेपेका महिलाहरूले माग सुनाउँदै गर्दा नेताद्वयले गोहीको आँशु झारेको एक पूर्वलडाकु बताउँछिन्।

‘हाम्रै नेतृत्वले नै राज्य सञ्चालन गर्दै गर्दा द्वन्द्वको प्रमाणका रूपमा बलत्कारको घाउ देखाउ भन्छन्। दशक पहिला भएको बलत्कारको घाउ खोज्न कहाँ जानु?’माओवादमा माकुराको जालो लागेको बताउँदै यौन हिंसापीडित उनी भन्छिन्,‘हाम्रा नेतृत्वले माओवाद भुलेका छन्। कुनै समय फागुन १ गते हाम्रा लागि ठुलै चाड आए जस्तो हुन्थ्यो तर आज पीडा सम्झाउने दिन जस्तो लाग्छ।’

तत्कालीन माओवादी २०६३ मंसिर ६ गते शान्ति प्रक्रियामा आएपछि विस्तारै माओवाद भुल्दै गएको आरोप लाग्ने गरेको छ। माओवादीका एक कार्यकर्ता भन्छन्,‘नाम मात्रै छोडेको भए खासै फरक पर्ने थिएन तर विचार नै छोड्दै गएकाले चिन्ता बढेको हो। फागुन १ हाम्रा लागि उल्लासको दिन हुन्थ्यो तर आज धेरैलाई यो दिवसको यादसमेत हुँदैन।’ अहिले सरकारले नै जनयुद्ध दिवसको अवसर भन्दै बिदा दिए पनि जनस्तरमा त्यो रौनक नभएको माओवादी कार्यकर्ताकै बुझाइ छ। बन्दुक बोकेर धेरै लडाइँ यक्ष युद्ध लडेका पूर्वलडाकुहरू माओवादमा माकुराको जालो लागेको बताउँछन्।

प्रकाशित: १ फाल्गुन २०७९ ०१:३२ सोमबार