राजनीति

मेलम्ची पानी ‘नयाँ वर्षमै'

ध्रुव दङ्गाल/प्रशान्त लामिछाने

सिन्धुपाल्चोक- प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी नयाँ वर्ष उपहारमा उपत्यकावासीलाई मेलम्ची पानी दिन सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन्। पटक–पटक समय गुजारेर चौथो लक्ष्य निर्धारण गरिएको डेढ दशक पुरानो सपना मेलम्ची खानेपानी अब पछाडि नधकेलिने उनले स्पष्ट पारे।

बहुचर्चित तथा बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शुक्रबार मुहानस्थल हेलम्बु आएका उनले सरोकारवालासँग अन्तरक्रिया गर्दै भने, '२०७४ वैशाखमै मेलम्ची उपत्यका पुग्ने देखियो।' पटक–पटक समय गुजारेर मेलम्ची सपना पछाडि धकेलेकोमा असन्तुष्टि प्रकट गर्दै उनले पछिल्लो समय आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माणले तीव्रता लिएको प्रति सन्तुष्टि प्रकट गरे।

'मेलम्चीले अब गति लियो,' उनले भने, 'निर्धारित समयमा होइन, त्यसअघि नै मेलम्ची काठमाडौं आइपुग्नुपर्‍यो।' मेलम्ची सुरुङ सम्पन्न गर्ने चौथो संशोधित लक्ष्य २०७४ असोज भए पनि त्यसअगावै सम्पन्न गर्न उनले अधिकारीलाई निर्देशन दिए। 'फटाफट काम गरौं। असोज कुरिरहनु पर्दैन। यही गतिले काम भए नयाँ वर्ष वैशाखमै उपत्यकावासीले मेलम्ची पाउने सम्भावना देखियो।'

आयोजनाको प्रगति सुन्दै मुहानस्थल हेलम्बुको रिबर्मा अवलोकन गरेपछि उत्साही देखिएका प्रधानमन्त्री दाहालले समयअगावै मेलम्ची उपत्यका पुगे सम्बद्ध अधिकारीलाई पुरस्कृत गर्ने बताए। दाहालले भने, 'केही महिना र दिन मात्र किन नहोस्, निर्धारित समयअगावै आयोजना सम्पन्न हुनुपर्‍यो।' उनले आफू निरीक्षणमा नभई अनुमगनमा आएको बताए। राष्ट्रिय गौरव घोषित आयोजना आफैंले अनुगमन गर्ने पूर्वघोषणा सुरुवात गर्दै मेलम्ची आइपुगेको उनले स्पष्ट पारे।

अहिले मासिक ९ सयदेखि एक हजार मिटरका दरले सुरुङ खन्ने काम भइरहेकोमा सन्तुष्टि जनाउँदै प्रधानमन्त्री दाहालले मिहिनेत दोब्बर बनाउन आयोजनाका अधिकारी र ठेकेदारलाई निर्देशन दिए। 'विकसित मुलुकमा विकास आयोजना समयमै सकेर पुरस्कार लिने होड चल्छ। तपाईंहरु यसलाई पछ्याउनुस्,' उत्साही बनाउँदै उनले भने, 'निर्धारित समयभन्दा पहिल्यै मेलम्ची पूरा भएको हेर्ने र देखाउने सपना छ।'

स्थानीय प्रभावितको तर्फबाट बोल्दै सभासद् शेरबहादुर तामाङ र मेलम्चीका बोर्ड सदस्य चन्द्रबहादुर थापाले मेलम्ची उपत्यका लैजानुअघि लेबी निर्धारण गर्नुपर्नेमा जोड दिए। आफूहरुको समेत संलग्नतामा बनेको कार्यदलले अध्ययन गरेर प्रतियुनिट पाँच रुपैयाँ लेबी सिफारिस गरी प्रतिवेदन बुझाएको उनीहरूले प्रधानमन्त्रीलाई स्मरण गराए।

'लेबीको विषयमा मलाई धेरै जानकारी छैन। फर्केर अध्ययन गर्छु। मैले वचन दिएँ मेलम्ची लगेवापत तपाईंहरूले माग गरेको भन्दा बढी लेबी दिलाउने प्रतिबद्धता जनाउँछु,' स्थानीयको माग सम्वोधन गर्दै दाहालले भने। स्थानीयले मेलम्चीलाई उपत्यकामा लैजान कुनै व्यवधान खडा नगर्ने स्पष्ट पारे। मेलम्चीलाई चेलीको संज्ञा दिँदै सभासद् तामाङले आफूहरू अन्माउन तयार रहेको बताए। 'चेली लगेपछि पूरा गर्नुपर्ने धर्म मात्र सम्झाएका छौं,' उनले तुरुन्त लेबी निर्धारणमा जोड दिँदै भने।

हेलिकप्टरबाट अनुमगनमा जान सुरक्षा अधिकारीले सुझाए पनि वास्तविकता बु‰नुपर्ने भन्दै प्रधानमन्त्री दाहाल गाडीबाट यहाँ आइपुगेका थिए। आयोजनाको मेलम्चीस्थित साइट कार्यालयमा भौतिक प्रगति जानकारी लिएका दाहाल त्यसपछि १७ किमी दुरीको मुहानस्थल हेलम्बु पुगे।

आयोजनाका कार्यकारी निर्देशक धनश्याम भट्टराईले आयोजनाको प्रगतिबारे प्रधानमन्त्री टोलीलाई जानकारी गराए। उनले आयोजना सम्पन्न गर्ने चौथो संशोधित लक्ष्य २०७४ असोजबाट पछाडि नधकेलिने स्पष्ट पारे। गत महिना सवा नौ सय मिटर सुरुङ खनेको बताउँदै उनले चालु वर्षमै पाँच किमी सुरुङ खनेको जनाए। 'यही दरमा काम गरे अबको पाँच महिनामा सुरुङ खन्ने काम सकिन्छ,' उनले भने।

मेलम्ची पानी काठमाडौं ल्याउने साढे २७ किलोमिट सुरुङमध्ये १९ किलोमिटरभन्दा बढी खनिसकिएको भट्टराईले जानकारी दिए। उनका अनुसार अब झन्ण्डै आठ किमी सुरुङ खन्न बाँकी छ। 'भूकम्प र नाकाबन्दीले गत वर्ष धेरै काम गर्न सकेनौं,' उनले थपे। सन् २००७ मा सम्पन्न गर्ने गरी सन् २००१ बाट आयोजनाको काम थालिएको थियो। दातासँग समयमै ऋण सम्झौता गर्न नसकेको र आयोजना नै पुनःसंरचना गर्नुपर्दा निर्माणमा ढिला भएको कार्यकारी निर्देशक भट्टराई बताउँछन्। उपआयोजना–२ अन्तर्गत सुन्दरीजल पुग्ने पानी राजधानीमा वितरण गर्न त्यहाँ पानी प्रशोधन केन्द्र अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।  कार्यकारी निर्देशक भट्टराईले प्रशोधन केन्द्रको काम ९३ प्रतिशत सकिएको जानकारी दिए।

'मेलम्ची सुन्दरीजल पुग्नुअगावै प्रशोधन केन्द्र निर्माण भइसक्छ,' उनले भने। एसियाली विकास बैंक (एडिबी) मुख्य दाता रहेको आयोजनाको कुल लागत ३ सय १७ मिलियन डलर छ। मेलम्चीपछि एउटै सुरुङमा लार्के यांग्रीको खोला समेत मिसाएर दैनिक ५१ करोड लिटर पानी राजधानी लैजाने सरकारको दीर्घकालीन योजना छ। मेलम्चीबाट मात्र १७ करोड लिटर पानी लाने लक्ष्यसाथ काम भइरहेको हो। आयोजनाका अधिकारीका अनुसार यांग्रीबाट ९.७ र लार्केबाट १.७ किमी सुरुङ बनाउँदा यी दुई खोलाको पानी अम्बाथानमा मिसिन्छ।

'लार्के र यांग्रीको काम अघि बढाउन विस्तृत अध्ययनका लागि कन्सल्ट्यान्ट र निर्माण व्यवसायी छनोट गर्ने चरणमा पुगेका छौं,' आयोजनाका कार्यकारी निर्देशक भट्टराईले भने। उनका अनुसार २३ अर्ब ४५ करोेड ८६ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको आयोजनामा हालसम्म १८ अर्ब ३३ करोड रुपैयाँ खर्च भइसकेको छ।

प्रकाशित: ८ आश्विन २०७३ ०२:४८ शनिबार

मेलम्ची पानी वर्षमै